झापा, माघ ५ । झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित पाथीभरा एकेडेमीका संचालक स्वयंले नयाँ विद्यार्थी भर्ना नगर्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।

अनिश्चित र अव्यवस्थित परिस्थितिमा विद्यालयले नयाँ भर्ना खुला राख्नु भनेको बालबालिकाको भविष्यसँग प्रत्यक्ष खेलवाड गर्नु भएकाले आफ्ना छोराछोरी भर्ना नगर्न विद्यालयका संचालक रवि पोद्धारले आग्रह गरेका हुन् । संचालकद्वय रवि पोद्धार र विनोद पोखरेलबीच विवाद रहेको छ ।
पोद्धारले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी विद्यालयको शैक्षिक, प्रशासनिक र भौतिक व्यवस्थापन दिन प्रतिदिन अस्तव्यस्त बन्दै गएको बताउँदै जसको प्रत्यक्ष असर विद्यार्थीको वर्तमान र भविष्यमा पर्न सक्ने स्पष्ट देखिएको अवगत गराए । विद्यालय सञ्चालन भइरहेको भवन तथा जग्गा पोद्धारको निजी स्वामित्वमा रहेको छ । तर उक्त भवन हाल जीर्ण अवस्थामा पुगिसकेको हुँदा त्यहाँ विद्यालय सञ्चालन गर्दा भविष्यमा हुन सक्ने कुनै पनि दुर्घटनाको जिम्मेवारी आफूले नलिने उनले स्पष्ट पारेका छन् । ‘यदि कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण नैतिक तथा कानुनी जिम्मेवारी सम्बन्धित निकाय र लापरवाही गर्ने पक्षले लिनुपर्ने कुरा सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु ’ उनले पत्रकार सम्मेलनमा भने ।
यसका साथै, विगत केही वर्षदेखि विद्यालयको नियमित लेखा परीक्षण नहुनु, कम्पनी अद्यावधिक नगरिनु, विद्यालय व्यवस्थापन समिति तथा सञ्चालक समितिका बैठकहरू नबस्नुजस्ता कारणले विद्यालय जुनसुकै बेला बन्द हुने जोखिमपूर्ण अवस्थामा पुगेको उनले जानकारी दिएका छन् ।
२०६४ सालमा स्थापना भएको पाथीभरा एकेडेमीलाई २०७५ सालमा रवि पोद्धार र विनोद पोखरेलले खरिद गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएका थिए । त्यहाँ करिव ५ सय विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ कक्षा १० सम्म अध्ययन हुने गरेको छ ।



