झापा, माघ ७ । अघिल्लो निर्वाचनमा झन्डै पाँच गुणा बढी मत ल्याएर जितेका प्रतिष्पर्धी केपी ओलीको मत बिगारेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह( बालेन) ले झापा ५ मा आफ्‌नो चुनावी माहौल बनाइरहेका छन् ।

नयाँ पार्टी भएकोले सांगठनिक हिसाबले रास्वपा कमजोर भएपछि एमाले र कांग्रेसको मत तान्न उनी तल्लीन देखिएका हुन् । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएको भोलिपल्टबाट भेटघाटलाई तीब्रता दिएका उनले आफ्‌नो क्रेजका कारण अन्य दलका नेता कार्यकर्ता आकर्षित गर्दै गएका छन् । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ दमकको लगभग सिंगो टीम नै बालेनसंग गएको छ । आज बिहान राष्ट्रिय युवा संघ दमकका अध्यक्ष छवि खतिवडा , उपाध्यक्ष विजय तामाङ , सचिव कमल गैरेसहित लगभग सिंगो टीम नै संगठन परित्याग रास्वपाका उम्मेदवार बालेनसंग गएको हो ।

त्यस्तै आजै नेपाली कांग्रेस कमलका सचिव महेन्द्र बुढाथोकी पनि पार्टी परित्याग गरी बालेनलाई सघाउने गरी रास्वपामा प्रवेश गरेका छन् ।नेपाली कांग्रेसको दमक नगर सभापति पद त्यागेर रास्वपामा गएका प्रकाश प्रसाईले कांग्रेस र एमालेका अन्य थुप्रैजना बालेनलाई सहयोग गर्न आउन लागेको बताए । प्रसाई छोडेर गएपछि नेपाली कांग्रेस दमक नगर समितिको कार्यवाहक सभापतिको जिम्मेवारी प्रेम भट्टराईले पाएका छन् । बुधबार दमकस्थित पार्टी कार्यालयमा बसेको विस्तारित बैठकले रिक्त रहेको कार्यवाहक सभापतिको जिम्मेवारी नगर उपसभापति समेत रहेका भट्टराईलाई दिने निर्णय गरिएको उपसभापति युवराज खनाल सागरले जानकारी दिए ।

निर्वाचनका बेला युवा संघको नगर कमिटी रितिएपछि एमालेका उम्मेदवार तथा पार्टी अध्यक्ष ओलीले नयाँ कमिटी गठन गरेका छन् । दमक युवा संघ दमकका पदाधिकारीले राजीनामा दिएको केही समयमै दमकका युवा सुदिप फागोको अध्यक्षतामा युवा संघले नयाँ कमिटी घोषणा गरेको हो ।

दमकस्थित झापा निर्वाचन क्षेत्र न १ निर्वाचन अधिकृत कार्यालयमा मनोनयन दर्ता गराएर मंगलवार राति बिर्तामोडमा बास बसेका बालेनले आज बिहानैदेखि भेटघाट शुरु गरेका थिए । आफू बसेको बिर्तामोड १ स्थित निश्चल बस्नेतको घरमा उनले पार्टीका अर्का उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरसंग भेट गरेका थिए । उम्मेदवार मगरसंगै उनले इन्जिनियरहरुलाई पनि भेटेका थिए । पेशाले इन्जिनियर रहेका बालेनलाई झापाका इन्जिनियरहरुले सघाउने जनाइएको छ ।

त्यसपछि उनी सम्पर्क कार्यालय रहेको दमक ५ स्थित लक्ष्मीनारायण मार्गस्थित बिन्दु सिटौला(लक्की) को निवासमा फर्किएका थिए । त्यहाँ उनले आफ्‌ना पार्टीका उम्मेदवारहरु, जेनजी युवा समूह , समर्थक, अगुवा कार्यकर्तासंग भेटघाट गरेका छन् । भेटघाटको लागि नेपाली कांग्रेसको नगर सभापतिबाट राजीनामा दिएका प्रकाश प्रसाई, जेनजी अगुवा शुभम् सिग्देल, इन्जिनियर सरोज भट्टराई, नेपाली कांग्रेका नेतृ बुलेट आमा, रास्वपाका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं ३ का उम्मेदवार गणेश कार्कीलगायतसंग छुट्टाछुट्टै भेट गरेका थिए ।

उनले झापाका उम्मेदवारहरु क्षेत्र नं १ का निशा डाँगी , ३ का प्रकाश पाठक र ४ का शम्भुप्रसाद ढकालसंग चुनावी रणनीतिबारे छलफल गरेका थिए । एउटै कमाण्डबाट परिचालन हुने गरी चुनावी कार्यक्रममा एकरुपता दिनुुपर्ने कुरामा बालेनले जोड दिएको झापा ३ का उम्मेदवार रहेका रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले जानकारी दिए ।

उम्मेदवारहरुलाई भेटिसकेपछि उनले जिल्ला समिति र जिल्लामा रहेका केन्द्रीय नेताहरुसंग छलफल गरेका थिए । छलफलमा जिल्ला समितिसंगै केन्द्रीय तहका ओम भण्डारी , शरद जोशी , विरोध सुवेदी , फणिन्द्र न्यौपानेसहित २५ जना सहभागी रहेका थिए ।बालेनले आजै सुनसरीका उम्मेदवारहरु अशोक चौधरी , सरिन तामाङ , लालविक्रम थापा र दीपककुमार साहसंग पनि चुनावका बारेमा छलफल गरेका थिए । उनले हिजो मोरङ १ का उम्मेदवार यज्ञमणि न्यौपानेसंग भेट गरेका थिए ।
बालेनले युवादेखि बृद्धबृद्धासम्मलाई भेट गरेका थिए । उनलाई भेट्न विद्यार्थीहरु पनि पुगेका थिए । आज साँझ इलाम गएका बालेनले सम्पर्क कार्यालयमा दिनभरि करिव पाँच सयजनालाई भेटेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्