झापा, माघ ९ । झापा प्रहरी प्रमुखको कमाण्ड सम्हालेसंगै नयाँ प्रहरी उपरीक्षक(एसपी) बसुन्धरा खड्काले मातहतका प्रहरीहरुलाई कडा निर्देशन दिएकी छन् ।

आजदेखि उनले जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हालेकी हुन् । सरुवा भएर गएका एसपी राजन लिम्बूको विदाईसंगै नयाँ एसपी खड्काको लागि जिल्ला प्रहरी कार्यालयमा स्वागत कार्यक्रम राखिएको थियो ।
त्यस कार्यक्रममा बोल्दै एसपी खड्काले शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएकाले शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लाग्न निर्देशन दिएको एक प्रहरी अधिकारीले बताए । ती प्रहरी अधिकारीका अनुसार एसपी खड्काले जिल्लाका प्रहरीहरुले गर्ने काम कारवाहीका बारेमा जान्न प्रहरी युनिटहरुको अनुगमन गर्ने बताएकी छन् । प्रतिदिनसंग कुरा गर्दै खड्काले आफू नयाँ भएकाले मातहतका प्रहरीसंग बुझ्ने कार्य गरिरहेको जानकारी दिइन् ।

गृह मन्त्रालयले निर्वाचन गराउनकै लागि खड्कालाई झापामा पठाएको हो । उनी बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट आएकी हुन् ।
गृह मन्त्रालयले आइतवार ४८ जना प्रहरी उपरीक्षक( एसपी) को सरुवा गरेको थियो । यसक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी राजन लिम्बू सरुवा भएर मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौं गएका छन् ।



