झापा, माघ १० । एक वर्षअघि झापाको बिर्तामोड नगरपालिका–५ मा स्थापना भएको गायत्री माताको मन्दिरले आफ्नो प्रथम वार्षिकोत्सव अत्यन्तै भव्य, श्रद्धामय र भक्तिभावले सम्पन्न गरेको छ ।

पूर्वमै पहिलो पटक स्थापना भएको यस पवित्रधाममा शुक्रबार दिनभरि विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन तथा साँझ भव्य भजन सन्ध्याको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
साँझ परेसँगै गायत्री भजन तथा धार्मिक गीतहरूले मन्दिर परिसर गुञ्जयमान बन्यो । “गायत्री भजनसहित धार्मिक भजनले गुञ्जियो गायत्री मन्दिर, श्रद्धालुले उल्लासमय बनाए गायत्री मन्दिरलाई” भन्ने दृश्य सजीव बनेको थियो । प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले प्रस्तुत गरेका भक्तिगीतले हजारौँ श्रद्धालुलाई भावविभोर बनाएको थियो । “प्रसिद्ध भजन गायक राजु अधिकारीको टिमले गुञ्जयमान बनाए माहोल” भन्ने अनुभूति सबै भक्तजनले प्रत्यक्ष महसुस गरे ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, पूर्वमन्त्री सरिता प्रसाईं, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, राष्ट्रिय अनुसन्धान विभाग झापाका उप–निर्देशक उमेश पाण्डेलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । हजारौँ भक्तजनले दीप प्रज्वलन, भजन सन्ध्या र आरतीमा सहभागी भई वार्षिकोत्सवलाई उल्लासमय बनाएका थिए ।

वार्षिकोत्सवका अवसरमा विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । भव्य श्रृंगार गरिएको मन्दिरमा महाप्रसाद वितरण गरिँदा भक्तजनको लामो पंक्ति लागेको थियो । श्रद्धा, शान्ति र आध्यात्मिक ऊर्जा फैलिएको मन्दिर परिसर साँच्चिकै तीर्थस्थलको अनुभूति दिने गरी सजिएको थियो ।
मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रोनक बंशलका अनुसार मन्दिर निर्माणमा सहयोग पुर्याउने स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न दाताप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ । पूर्वमै पहिलो पटक करिब अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएसँगै यस वर्ष गायत्री जयन्तीसमेत पहिलो पटक भव्य रूपमा मनाइएको थियो ।
गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएपछि पाँचदिने विशेष अनुष्ठानको उद्घाटन गर्दै नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनसमेत आयोजना गरिएको थियो । उनका प्रवचनले भक्तजनलाई धर्म, कर्म र सदाचारको मार्गमा अग्रसर हुन प्रेरित गरेको सहभागीहरूले बताएका छन् ।
श्रद्धा, भक्ति र संगीतको त्रिवेणीले एकाकार बनेको यस प्रथम वार्षिकोत्सवले गायत्री माताप्रतिको आस्था अझ प्रगाढ बनाएको र मन्दिरलाई पूर्वको महत्वपूर्ण धार्मिक केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । मन्दिरका सल्लाहकार समिति सदस्य स्वस्तिका अचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।


