झापा, माघ १० । समाजसेवी खिलप्रसाद शिवाकोटीलाई गोपीकृष्ण स्मृति पुरस्कार प्रदान गरिएको छ ।


स्व. गोपीकृष्ण खनालको ७९ औं जन्मजयन्तीको अवसरमा गोपीकृष्ण स्मृति प्रतिष्ठान बिर्तामोड–४ ले बिर्तामोडस्थित गोमेन्द्र कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा बिर्तामोड–८ ,गरामनी निवासी पूर्व शिक्षक एवम् समाजसेवी खिलप्रसाद शिवाकोटीलाई ५० हजार रुपैयाँ राशिको सो पुरस्कारसहित सम्मान गरिएको हो । पत्रकार, साहित्यकार एवम् समाजसेवी व्यक्तित्व स्वर्गीय गोपीकृष्ण खनालको संझनामा स्थापित तेस्रो गोपीकृष्ण स्मृति पुरस्कार शिवाकोटीलाई प्रदान गरिएको हो ।

यसअघि पहिलो पुरस्कार पत्रकारितातर्फ अग्रज पत्रकार नकुल काजी पाण्डे र दोस्रो पुरस्कार साहित्य विधातर्फ साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिएको थियो । प्रत्येक २–२ वर्षमा प्रदान गर्दै आएको यो पुरस्कार यसपटक समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने शिवाकोटीलाई दिइएको हो।

प्रतिष्ठानका उपाध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य तथा साहित्यकार गोपालकुमार बस्नेत रहेका थिए । कार्यक्रममा प्रतिष्ठानकी संस्थापक संरक्षक रुपादेवी खनाल,सिलगडी भारतका मिमलाल सापकोटा र श्रीमती माया सापकोटा,कवि ,गजलकार केशव आचार्य, साहित्य चौतारी बिर्तामोडका संस्थापक संरक्षक एवम् वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठ,त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका सभापति प्रेमप्रकाश फलाहारी, ऊर्जाशील साहित्य कला प्रतिष्ठान बिर्तामोडका सचिव देवीचरण भण्डारी,साहित्यकार हरिनारायण भट्टराई, आरती पोखरेललगायतको उपस्थिति रहेको थियो ।

कविद्वय मीना अधिकारी र योगेश्वर बरालले कविता वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव तीर्थ सिग्देल र सञ्चालन प्रतिष्ठानका सल्लाहकार डा. पु्‌ण्यप्रसाद सिग्देलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्