बिर्तामोड , माघ १० । बिर्तामोडस्थित सरगम संगीतालयले आफ्नो २२औँ वार्षिकोत्सवसहित मातृभाषा संरक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका प्रमुख सल्लाहकार श्रीकृष्ण मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गीतकार शिवशङ्कर थापा प्रमुख अतिथि रहेका थिए ।साहित्यकार केशव आचार्य, कृष्ण योञ्जन, तुलसीप्रसाद भट्टराई, देवीभक्त श्रेष्ठ, हस्त परियार र लक्ष्मी श्रेष्ठ विशिष्ट अतिथि तथा कुमार श्रेष्ठ, हेमा भण्डारी योञ्जन, खिलप्रसाद शिवाकोटी, भेषराज चम्लागाईँ र सुनिता तामाङको आतिथ्यता रहेको थियो ।
राजवंशी भाषाको गीतबाट स्वागत गरिएको कार्यक्रममा विद्यालयका संस्थापक एवम् सञ्चालक दिपक रायमाझीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मातृभाषाअन्तर्गत पालम, मुस्लिम, देउडा, तमु गुरुङ, खैजडी, तामाङ सेलो, ख्याली, हुर्रा, सङ्गीनी, मैथिली, संस्कृत, हुड्केली, नेवारी, राई र बालन गरेर जम्मा १६ थरीका भाषा तथा पुराना संस्कार संस्कृति झल्किने प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
सरस्वती बन्दनालगायत तीनवटा कत्थक नृत्य र अन्य दुईवटा नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा सोही विद्यालयका सङ्गीत तथा नृत्य प्रशिक्षार्थीहरुले अत्यन्तै मीठो र रसिलो तरिकाले आफ्नो कला प्रस्तुत गरिरहँदा दर्शकसामु अति नै रोमाञ्चकारी वातावरण बनेको थियो ।

वाद्यवादनतर्फ बाँसुरीमा मित्र मगर, किबोर्डमा भिम केरुङ, तवलामा दिनेश घिमिरे, प्याडमा राजु तामाङ र गीतारमा शाश्वत खत्रीले साथ दिएका थिए । कार्यक्रममा साहित्यकार केशव आचार्यले पौराणिक संस्कार संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तामा भाषा, कला र संस्कृतिको प्रवाह गर्नुको निम्ति यस विद्यालयले खेलेको भूमिकाको सराहना गरेका थिए । त्यस अवसरमा समाजसेवी खिलप्रसाद शिवाकोटीले नगद ५ हजार सहयोग गरेका थिए ।
सोही कार्यक्रममा लोकभाकालाई गाउँदेखि शहरसम्म अविछिन्न गाइरहने कचनकवल २ सङ्गीत चोक निवासी मण्डल गाइनेलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । त्यस्तै गत पुष २४ गते सम्पन्न झापा जिल्ला स्तरीय अन्तर विद्यालय गायन प्रतियोगितामा यसै संगीतालयका प्रशिक्षार्थी जुनियरतर्फ प्रथम हुने अङ्कित मिश्र, द्वितीय हुने प्रज्ञान उप्रेती र सिनियरतर्फ तृतीय हुने प्रशुन गुरागाईँलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन लीला खत्री खतिवडाले गरेका थिए ।



