झापा, माघ ११ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल( डिन) झापाको अध्यक्षमा ओमप्रकाश राई निर्वाचित भएका छन् ।

हिजो कन्काई ३ स्थित साकेला थानमा भएको १७ औं जिल्ला अधिवेशनबाट दमक नगरपालिकामा कार्यरत राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा हिरण्यकुमार राई , सचिव विशाल राजवंशी , सहसचिव विष्णुबहादुर आङदेम्बे र कोषाध्यक्षमा डम्बरबहादुर श्रेष्ठ चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा डम्बरकुमारी अधिकारी थापा , प्रियंका बुढाथोकी , प्रज्वल प्रसाई , लोचन बस्नेत र प्रेमचन्द्र बास्तोला रहेका छन् । नयाँ समिति चयन गर्न जीवन घिमिरे संयोजक तथा खड्गबहादुर बस्नेत र कमल दाहाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
डिन झापाका अध्यक्ष सडकलाल राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष कामेश्वर सिंहको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय सहअध्यक्ष जीवन घिमिरे , प्रदेश अध्यक्ष खड्गबहादुर बस्नेत , पूर्व केन्द्रीय सचिव तथा संस्थापक जिल्ला अध्यक्ष उत्तम खरेल , इन्जिनियर कमल कोइरालालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला अध्यक्ष राजवंशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष ओमप्रकाश राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष हिरण्यकुमार राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन आजीवन सदस्य सुरविर राना मगरले गरेका थिए ।



