झापा, माघ ११ । राजनीतिक दलका नेताहरुले समस्याको समाधान नगरी लगातार ठग्दै आएपछि निर्वाचनको मुखमा बिर्तामोड बसपार्कबासीहरु आन्दोलित भएका छन् ।

बिगत दुई वर्षदेखि रोक्का रहेको आफूहरुको ५१ विघा जग्गा फुकुवा गर्न कसैले पनि सहयोग नगरेको भन्दै उनीहरुले राजनीतिक दलका उम्मेदवारहरुलाई बसपार्कमा प्रवेश निषेध गर्न लागेका छन् । ‘ हामीले सबै दलका नेताहरुलाई गुहार लगायौं तर , आश्वासनबाहेक केही पनि पाएनौं’ ५१ विघे बसपार्क समन्वय समितिका सहसचिव शिवराज पौडेलले भने,‘ त्यही भएर कुनै पनि उम्मेदवारलाई बसपार्कमा छिर्न दिदैनौं । ’

एमालेका तर्फबाट झापा २ का उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले केही महिनाअघि बसपार्कको समस्या हल गर्ने बताएका थिए । एक–दुई दिनमै समाधान गरिहाल्ने उनको कुरा आश्वासनमै सीमित रह्यो । आफूहरुले आफ्‌नो क्षेत्रका सांसदसमेत रहेका निवर्तमान सभामुख देवराज घिमिरेदेखि लिएर हालका प्रधानमन्त्री सुशीला कार्की , गृहमन्त्री ओमप्रकाश अर्यालसम्मलाई समस्याका बारेमा ध्यानाकर्षण गराउँदा समेत कसैले पनि साथ नदिँदा आन्दोलित हुनु परेको पौडेलले बताए ।

२०८० सालको सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि बसपार्कको ११५३ वटा कित्ता भूमिसुधार तथा मालपोत कार्यालय झापामा रोक्का गरिएको छ ।

बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा जग्गामा पछिल्लो १५ वर्षदेखि घना बस्ती विकास भएको छ। करिब ६ सय पक्की घर, ११५३ घडेरी, बसपार्क, शैक्षिक संस्था, व्यापारिक संरचना तथा अन्तर्राष्ट्रिय सहयोगमा बनेका पूर्वाधारहरू त्यही क्षेत्रमा अवस्थित छन्। नागरिकहरूले यही जग्गा धितो राखी बैंकबाट ऋण लिएका छन्, व्यवसाय सञ्चालन गरेका छन् र राज्यलाई कर तिरेका छन्। आफ्‌नो जग्गा रोक्का हुँदा करिव १० हजार नागरिक प्रभावित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्