झापा, माघ ११ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा झापाका सोमनाथ पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशअन्तर्गत दलित र महिला समूहबाट कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार पोर्तेल र मेचे विजयी भएका हुन् ।
दलित समूहअन्तर्गत पोर्तेल ७ हजार ४२३ मतभारसहित विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी खेमराज सुन्दासले २ हजार ३७ मतभार प्राप्त गरे ।
त्यस्तै, महिला समूहअन्तर्गत गठबन्धनकै रोशनी मेचे ७ हजार १७३ मतभारसहित निर्वाचित भइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नमिता नेउपानेले २ हजार २६८ मतभार ल्याइन् ।
निर्वाचनमा स्थानीय तहका तर्फ २ सय ५८ र प्रदेशसभातर्फ ८७ मत खसेको थियो । स्थानीय तहमा कुल २ सय ६७ मध्ये २५८ ले मतदान गरे । प्रदेशसभामा ९२ मध्ये ८७ मत खस्यो । मतभार प्रणालीअनुसार स्थानीय तहको मतभार १९ र प्रदेशसभाको ५३ तोकिएको थियो ।
प्रदेशसभातर्फ गठबन्धनका ६४ र नेकपाका २२ मत खसेको थियो । निर्वाचनमा एक मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कोशी प्रदेशबाट ‘अन्य समूह’मा कांग्रेसका नेता सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए । यसअघि उनी राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए ।
राष्ट्रिय सभा निर्वाचनका लागि पुष २३ गते विराटनगरमा भएको मनोनयन दर्ताको समयमा थापाको एकल उम्मेदवारी परेको थियो । उनी सोही दिन निर्वाचित भए पनि आइतबार मात्रै आयोगले औपचारिक घोषणा गरेको हो ।



