झापा, माघ ११ । सुरक्षाको प्रत्याभूति नभएसम्म निर्माण कम्पनीले पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम सुचारु नगर्ने भएको छ ।

प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने र नियन्त्रणमा लिइएका आफ्‌ना सवारी साधन छोड्नु पर्ने अडानमा निर्माण कम्पनी रहेको छ ।

निर्माण कम्पनीले कारणसहित काम रोकेको जानकारी गराएपछि आफूहरुले शान्ति सुरक्षाको व्यवस्था मिलाई निर्माण कार्य सुचारु गराउने वातावरणका लागि समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालयलाई लिखित आग्रह गरेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)का प्रमुख सुनिलबाबु पन्तले बताए । उनले निर्माण कम्पनीलाई सुरक्षाको सवालमा आश्वस्त पार्ने प्रयास भइरहेको जानकारी दिए । तर, निर्माण कम्पनीले अबदेखि अनावश्यक दुःख नदिने , डर त्रास नदेखाउने वातावरण नबनेसम्म र नियन्त्रणमा लिइएका ७ वटा टिपर नछोडेसम्म निर्माण कार्य सुचारु नगर्ने बताएको पन्तले जानकारी दिए ।

माघ १० गते ४ वटा , माघ ९ गते एउटा र पुष २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । हिजो बिहान १;३०बजे कनकाई वडा न.१ मा प्र.१–०२–०१क.३७४८न.को टिपर र चालक बाह्रदशी वडा न.१बस्ने सुमन माझी , प्र.१–०२–००१क.४३२६न.को टिपर र चालक बेलबारी वडा न.२ लालभित्ती बस्ने सरोज तोलाङ्गे , प्र.१–०२–००१क.४३२५न.को टिपर र चालक बिराटनगर वडा न.१२बस्ने सनम श्रेष्ठ तथा ना५ख६४९०न.को टिपर र चालक झापा गाउँपालिका वडा न.२ बस्ने गोमत दासलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका ७ वटा टिपरमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका कार्यालय र दुईवटा सव डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ ।

शान्ति सुरक्षा गर्ने जिम्मेवारी प्रहरीको भएकाले त्यसको व्यवस्था मिलाउन इलाका प्रहरी कार्यालय बिर्तामोडलाई भनिसकेको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले बताए । सुरक्षा व्यवस्था मिलाइदिन निवेदनको बोदार्थ आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताए । उनले कोही कसैमाथि उजुरी नपरेको जानकारी दिए ।

झापामा सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले अनावश्यक दुःख दिने र हातपात गरेको भन्दै सुरक्षाको कारण देखाएर निर्माण कम्पनीले काम रोकेको जनाएको हो । सुरक्षाका कारण काम गर्न नसकिएको भन्दै निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले धम्क्याउने व्यक्तिको नामसहित काँकडभिट्टा–लौकही सडक योजना कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको थियो । उनीहरूले निर्माण सामग्री बोकेका गाडी रोक्नदेखि मजदुरसम्मलाई हातपात गरेको उजुरीमा उल्लेख छ।

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने काँकडभिट्टा–लौकहीसडकअन्तर्गत काँकडभिट्टादेखि केर्खासम्मको पूर्वखण्डको काम अवरुद्ध भएको हो । मजदुर र चालकमाथि हातपात र धम्की हुन थालेपछि पूर्वखण्डको ४५ किलोमिटर सडक निर्माणको काम आइतबारदेखि रोकिएको छ। यो राजमार्गलाई एसियन हाइवेमा विस्तार गर्ने योजनाअन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ । तर, करिब २० दिनदेखि झापाको कन्काई नगरपालिका क्षेत्रमा केही व्यक्तिका कारण काम रोकिएको निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीका प्रतिनिधि उज्ज्वल प्रसाईंले जानकारी दिए ।

बिर्तामोडका सुरेश आलेमगर, राज आङ्देम्बेलगायतले निर्माणको काममा प्रयोग भएका सवारीचालकलाई हातपात गर्ने, धम्की दिनेलगायतका गतिविधि हुन थालेपछि काम रोकिएको उनको भनाइ छ। सुरेश नेपाली कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष हुन् भने आङ्देम्बे एमालेनिकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज हुन् । त्यस्तै, एक उप्रेती थरका व्यक्तिले पनि धम्की दिएको निर्माण कम्पनीको उजुरीमा उल्लेख छ।

उनीहरूसहित केही व्यक्तिले मजदुरमाथि दुर्व्यवहार गर्दा मजदुरले काम गर्न नमानेको एभरसकोन–कालिका जेभीका प्रतिनिधि प्रसाईंले जानकारी दिए ।

विगतदेखि नै बारम्बार दुःख दिइरहेको र यसपटक भने काम रोक्न बाध्य भएको उनले बताए । काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक निर्माणको ठेक्का १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले ठेक्का लिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्