झापा, माघ १२ । अब उप्रान्त हिंसात्मक अभिव्यक्ति नदिने लिखित कागज गराएर झापा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार स्वागत नेपाल भन्ने भद्रप्रसाद नेपाललाई साइबर ब्यूरोले छोडेको छ ।

साइबर ब्यूरोमा उपस्थित गराई उनलाई प्रारम्भिक सोधपुछ गर्दा अव उप्रान्त यस्तो गलत अर्थ लाग्ने अभिव्यक्ति दिने छैन, कानुनको पालना गर्ने गरी अभिव्यक्ति दिने छु भनी लिखित कागज गराई खोजी भएका बखत उपस्थित हुने गरी प्रस्तुत घटनाको अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपकराज अवस्थीले प्रेस विज्ञप्ति जारी गरी जनाएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं. ७ घर भएका ५० वर्षीय नेपालले चुनावी प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालबाट ‘जसले पृथ्वी नारायण शाहको विरोध गर्दछ त्यसको टाउको काटिन्छ, काट्नु पर्छ, म काट्न तयार हुन्छु’ भन्ने जस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका समाजमा हिंसालाई प्रशय गर्ने खालका कानुन विपरीतका अभिव्यक्तिहरू दिएको व्यूरो जनाएको छ ।
जुन लोक आवाज नामक युट्युव च्यानललगायतका संचारमाध्यमबाट प्रसारित भएको थियो । सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामग्रीहरू प्रसारित गर्ने उपर समेत यस ब्यूरोबाट निगरानी भइरहेको र यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक अवस्थीले जानकारी दिएका छन् ।



