झापा, माघ १२ । चोरीका सामान र लागूऔषधसहित दमकमा चारजना पक्राउ परेका छन् ।


गत माघ ७ गते अन्दाजी दिउँसो ३;४० बजे दमक ५ चाँदनी टोल बस्ने कमल चम्लागाईको घरबाट अपरिचित व्यक्तिहरुले १ तोलाको सुनको चुरा , ६ आनाको सुनको नौगेडी , ६ आनाको तिलहरी , ५ आनाको सुनको औंठी र आधा तोलाको सुनको औंठी , १० आनाको सुनको कानमा लगाउने झुम्का र नगद २५ हजार चोरी गरेका थिए ।

घटनाको अनुसन्धान गरी पाउँ भनी कमला चम्लागाईले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् । उक्त निवेदनको आधारमा सीसीटीभी फुटेजलगायतको माध्यमबाट घटनाको अनुसन्धान गर्ने क्रममा शिवसताक्षी २ घर भई हाल दमक ८ बस्ने प्रकाश घतानी र दमक ७ बस्ने कमलबहादुर रन्जितकारले चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

घतानी र रन्जितकारलाई खोजतलास गर्ने क्रममा माघ १० गते दिउँसो ४ बजे दमक ८ बाट फेला पारी पक्राउ गरिएको थियो । उनीहरुलाई प्रारम्भिक सोधपुछ गर्दा उक्त चोरीका केही सुनका गरगहनाहरुमध्ये १ जोर कानमा लगाउने सुनको झुम्का, १ थान सुनको चुरा, १ थान औंठी र १ थान नौगडीको दाना र सानो टुक्रा १ थान प्रकाश घतानीले दमक वडा नं. ८ स्थित आफू बस्ने कोठामा लुकाई छिपाई राखेको बताएका थिए ।

त्यसपछि उक्त घर कोठा खानतलासी गरिएको थियो । त्यसक्रममा सुनका केही गरगहनाहरु बरामद गरी नौ गेडीको २ वटा दाना कमलबहादुर रन्जितकारले लगी आफ्नै बुबा बर्ष ५५ का नरबहादुर रन्जितकारलाई राख्न दिएको समेत बताएका थिए ।

नरबहादुर रन्जितकारलाई माघ १० गते राति ८ बजे दमक १ बाट पक्राउ गरी उनको शरीर तथा घर कोठा खानतलासी गर्दा उनले लगाएको जिन्स पाईन्टको दायाँ गोजीबाट सुनको नौगेडीको २ वटा दानाहरु फेला परेको थियो ।

त्यसपछि कमलबहादुर रन्जितकारको घर कोठा खानतलासी गर्ने क्रममा कमलबहादुर रन्जितकारकी श्रीमती सन्ध्या हिङमाङले उनीहरु बस्ने घरको झ्यालबाट केही शंकास्पद वस्तु झ्यालबाट फालेकी थिइन् । शंका लागेर उक्त वस्तु फालेको स्थानमा हेर्दा सेतो बट्टाभित्र प्लाष्टिकबाहेक १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

कमलबहादुर रन्जितकार, नरबहादुर रन्जितकार र सन्ध्या हिङमाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्