झापा, माघ १३ । सशस्त्र प्रहरी बल नं. २ गण हे. क्वा. झापा भद्रपुरका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको सरुवा भएको छ ।

उनी दंगा नियन्त्रण रेजिमेन्ट गण काठमाडौं सरुवा भएका हुन् । उनको ठाउँमा २ नं बाहिनी छिन्नमस्ता गण बर्दिबासबाट अम्बिकाप्रसाद जोशी आउने भएका छन् ।

त्यस्तै कमलको पाडाजुँगीस्थित पाथीभरा शिक्षालयमा रहेको ३८ नं गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक निरन्जन भण्डारीको पनि सरुवा भएको छ । उनको ठाउँमा दिनेश बस्नेत आउने भएका छन् ।

सरुवा भएर जान लागेका सशस्त्र प्रहरी बल नं. २ गण हे. क्वा. भद्रपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भण्डारीलाई झापा उद्योग वाणिज्य संघले फेरि भेटौँला कार्यक्रमसहित सम्मान गरेको छ ।संघको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी सशस्त्र प्रहरी उपरीक्षक भण्डारीलाई सम्मान गरिएको हो ।

एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन, चोरी पैठारी–निकासी नियन्त्रण, लागूऔषध प्रयोग तथा कारोबार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा एसपी भण्डारीलाई सम्म्मापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष एवम् झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले एसपी भण्डारीलाई सम्मानपत्रसहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संघका विशिष्ट सदस्य खडकबहादुर लिम्बू, उपाध्यक्ष बाबुराम पराजुली, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठसहित पदाधिकारी–सदस्यहरुले एसपी भण्डारीलाई खादा र अबिर पहिर्याएर सम्मान गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव सुमन्त मैनालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्