झापा, माघ १३ । झापामा जेनजी आन्दोलनमा लुटिएका सबै हतियार र फरार थुनुवा प्रहरीको नियन्त्रणमा नआएपनि प्रहरी प्रशासनले निर्वाचन शान्तिपूर्ण हुने कुरामा विश्वास दिलाउन खोजेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अत्यन्त चासोका साथ हेरिएको झापाको निर्वाचनलाई भयरहित र सुरक्षित बनाउने ठूलो चुनौती छ । तर , जिल्लाको सुरक्षा निकायले निर्वाचन शान्तिपूर्ण हुने दावी गरेको हो ।
जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय बिर्तामोड र इलाका प्रहरी कार्यालय दमकबाट १०३ थान हतियार लुटिएको थियो । त्यसमध्ये अरु फिर्ता भएपनि १६ थान हतियार अझै गायव नै छ । त्यस्तै करिव ९ हजार गोली र पाँच दर्जनजति अश्रुग्यास बेपत्ता रहेको छ ।
हतियारसंगै जेनजी आन्दोलनका बेला प्रहरी कार्यालयहरुबाट भागेका ३१ जना थुनुवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बिर्तामोड, झिलझिले र दमक प्रहरीको हिरासतबाट भदौ २४ गते ७२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ४१ जना पक्राउ परेको र ३१ जना फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अर्कोतर्फ जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका १२३७ वटा हतियारमध्ये कुनै पनि हतियार प्रहरी प्रशासनमा बुझाइएको छैन। जिल्ला प्रशासन कार्यालयले दुईपटक सूचना जारी गरेपनि हतियारधनीहरुले आफ्ना हतियार प्रहरी प्रशासनमा नबुझाएका हुन् ।
वैध र अवैध हतियार , फरार थुनुवा,खुल्ला सिमाना, कडा चुनावी प्रतिष्पर्धा, लागूऔषधको विकराल समस्याजस्ता कारणले झापामा आगामी निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न ठूलो चुनौती देखिएको हो । यद्यपि प्रहरीले शान्तिपूर्ण हुने दावी गरेको छ ।
महिला प्रहरीका रूपमा पहिलो पटक झापा प्रहरीको कमाण्ड सम्हाल्न आएकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने बताएकी छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसपी खड्काले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन पहिलाको सुरक्षा योजनालाई परिमार्जन गरी एकीकृत विशेष सुरक्षा योजना तयार गरिएको जानकारी दिइन्। उनका अनुसार संवेदनशील निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ प्रहरी परिचालन गरिनेछ।
उनले चुनावी अवधिभर जिल्लाका गाउँ–गाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिने र प्रत्येक गतिविधि सूक्ष्म ढंगले निगरानी गरिने बताइन्।
जिल्लामा हाल करिब ११ सय प्रहरी कार्यरत छन् ।कोशी प्रदेश प्रहरी कार्यालयबाट सयजना जनशक्ति थप भएको उनले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँग समन्वय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले आ–आफ्नो तहबाट चुनाव लक्षित सुरक्षा योजना कार्यान्वयन गरिरहेको एसपी खड्काको भनाइ छ। हराएका हतियार र फरार थुनुवाबाट चुनावमा कुनै पनि प्रकारको जोखिम हुन नदिनेमा प्रहरी सजग रहेको भन्दै उनले लुटिएका हतियारको खोजी तीब्र पारिएको जानकारी दिइन् । त्यस्तै गंभीर अपराध गरेर फरार भएका थुनुवाहरुको सक्रियताका साथ खोजी भइरहेको बताइन् ।
एसपी भएपछि तेस्रो जिल्लाको कमाण्ड सम्हाल्न झापा आइपुगेकी खड्काले शान्ति सुरक्षा, कानून कार्यान्वयन र जनताको भरोसा जित्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताइन्।
एसपी खड्का झापाकी ४६ औं प्रहरी उपरीक्षक हुन्। यसअघिका एसपी राजन लिम्बू काठमाडौं सरुवा भएपछि उनले झापाको कमाण्ड सम्हालेकी हुन्।
नियमित रुपमा भएको आफ्नो सरुवालाई लिएर कुनै पनि संदेह नगर्न आग्रह गर्दै उनले निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउने जिम्मेवारीलाई विगतको अनुभवको आधारमा कुशलतापूर्वक पूरा गर्ने दावी गरेकी छन् । पत्रकार सम्मेलनको सहजीकरण झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले गरेका थिए।



