झापा, माघ १४ । नेकपा एमालेको मतको सहायतामा लगातार दुईपटक झापा ३ मा संसदीय चुनाव जितेर उपप्रधानमन्त्रीसमेत भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस पटक एक्लैले चुनाव जित्दै ह्याट्रिक बनाउने हल्ला छ । पार्टीका नेता कार्यकर्ताहरुले आफ्ना उम्मेदवारको बारेमा त्यस्तो हल्ला फिजाएपनि वास्तवमा लिङ्देनले एक्लैले चुनाव कसरी जित्छन् ?

अघिल्लो निर्वाचन २०७९ मा राप्रपाले झापा ३ मा ल्याएको पार्टीको समानुपातिक मतले मात्र त्यो संभव नदेखिने विश्लेषण गरिएको छ । अघिल्लो निर्वाचनमा एमाले र राप्रपाको मत जोडेर लिङ्देनले ४० हजार ६४८ मतसहित आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । सिटौलाले ३७ हजार ३७२ मत ल्याएका थिए । लिङ्देनलाई एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको ।
०७९ मा प्रत्यक्षतर्फ राप्रपाका लिङ्देनले चुनाव जिते पनि समानुपातिकतर्फ भने कांग्रेस पहिलो पार्टी बनेको थियो । त्योबेला कांग्रेसले समानुपातिकतर्फ २५ हजार ५३५, राप्रपाले १९ हजार ७४३ र एमालेले १९ हजार ४६० मत प्राप्त गरेका थिए । ०७९ मा प्रत्यक्षतर्फ तेस्रो मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ चौथो स्थान अर्थात ७ हजार ८१२ मत प्राप्त गरेको थियो ।
समानुपातिक मतलाई हेर्दा झापा ३ मा राप्रपा दोस्रो पार्टी हो । राप्रपाभन्दा कांग्रेसको समानुपातिक मत ५ हजार ७९२ बढी थियो । त्यस्तै राप्रपाभन्दा एमालेको समानुपातिक मत मात्र २८३ कम थियो । यस पटकको निर्वाचनमा सबै पार्टीहरुले एक्लाएक्लै उम्मेदवारी दिइरहँदा यदि ‘म्याच फिक्सिङ’ को षडयन्त्र भएन भने आफ्नै बलबुतामा चुनाव जित्नु पर्ने हुन्छ । विगतको दुईवटा निर्वाचनमा जस्तो ‘गज्याङ’ नभएर सबै दलको आ–आफ्नो हैसियत छर्लङ्ग हुन्छ ।
२०७४ को तुलनामा २०७९ मा लिङ्देनले ल्याएको मतान्तर घटेको छ । त्योबेलाको निर्वाचनमा लिङ्देनले १३ हजार ४४३ मतान्तरले पुराना प्रतिद्वन्द्वी सिटौलालाई हराएका थिए । त्यसको पाँच वर्षपछि २०७९ मा भएको निर्वाचनमा मतान्तर ३ हजार २७६ मा झरेको हो । २०७४ सालको निर्वाचनमा ४४ हजार ६१४ मतसहित लिङ्देन निर्वाचित हुँदा सिटौलाको पक्षमा ३१ हजार १७१ मत परेको थियो । २०७० सालमा भने सिटौलाले लिङ्देनलाई हराएका थिए ।
झापा– ३ मा चारवटा पालिका छन् । भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिका तथा बिर्तामोड नगरपालिकाको १० नं वडा उक्त निर्वाचन क्षेत्रमा पर्छ । १ लाख ४० हजार ८५७ मतदाता रहेको झापा– ३ मा ९ हजार ४०० नयाँ मतदाता थपिएका छन् ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा चारवटा पालिकामध्ये कांग्रेसले दुईवटा( भद्रपुर र कचनकवल) जित्दा राप्रपाले हल्दिवारी र एमालेले बाह्रदशी जितेका थिए । २०७४ मा भएको अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाले दुईवटा पालिका( हल्दिवारी र कचनकवल) जित्दा कांग्रेसले बाह्रदशी र एमालेले भद्रपुर जितेका थिए । यसबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा २०७९ को निर्वाचनमा राप्रपाको जनमत घटेको देखिन्छ ।
२०७९ को प्रतिनिधि सभाको पार्टीगत समानुपातिक मत र सोही वर्ष भएको स्थानीय तहको निर्वाचनमा पाएको सफलतालाई हेर्दा कांग्रेसको संभावना बलियो देखिन्छ । तर, कांग्रेसको आन्तरिक कलहसंगै नयाँ उम्मेदवार राजेन्द्र घिमिरेको भूमिकाले असर गर्न सक्छ ।
अर्कोतर्फ १२ वर्षपछि एक्लै निर्वाचन लडेको एमाले यस पटक उत्साहित देखिएको छ । कार्यकर्ताको उत्साहित मतलाई निर्वाचनको बुथसम्म पुर्याउनु पर्ने चुनौती पनि त्यतिकै छ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले पार्टी अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिन लागेपछि यसपटक पनि एमालेले झापा ३ मा राप्रपासंग तालमेल गर्नेगरी उम्मेदवार होल्ड गरेको थियो । तर, दुवै पार्टीबीच सहमति नभएपछि अन्नतः एमालेबाट संविधानसभा सदस्य हरिबहादुर राजवंशी उम्मेदवार बनेका छन् ।
कांग्रेस , एमाले र राप्रपाबीच कडा प्रतिष्पर्धा हुने चर्चा चलिरहँदा अहिले चलेको चुनावी लहरका कारण रास्वपाका उम्मेदवार प्रकाश पाठकले पो बाजी मार्छन् कि भन्ने अड्कल पनि गरिएको छ । झापा– ३ मा नेपाली कम्युनिस्ट पार्टीका डिल्लीराम घिमिरे (हिक्मत)सहित १७ जना उम्मेदवार छन् । जसमा अभय राजवंशी र मानप्रकाश संग्रौलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।



