झापा, माघ १८ । झापासहित पूर्वी नेपालमा बसोबास रहेको आदिवासी सन्थाल समुदायले परम्परागत ‘सोहराय’ पर्व आज मनाउँदै छन् ।

सोहराय पर्वको अवसरमा झापाका ११ वटा पालिकाहरुले आज स्थानीय विदा दिएका छन् । गौरीगञ्ज , गौरादह ,शिवसताक्षी , झापा, बाह्रदशी , हल्दीवारी , कचनकवल , बिर्तामोड , भद्रपुर , कन्काई र कमलले विदा दिएका हुन् । सन्थाल जातिको बसोबास नरहेको मेचीनगर , अर्जुनधारा , बुद्धशान्ति र दमकले भने विदा दिएका छैनन् ।
सन्थालहरुको प्रमुख चाड सोहराय एकसातासम्म मनाइने गरिएको छ । सोहरायको पहिलो दिनलाई ‘उम’, दोस्रो दिनलाई ‘दाका’, तेस्रो दिनलाई ‘खुन्टौ’, चौथो दिनलाई ‘जाली’, पाँचौँ दिनलाई ‘हाकुकाद्कम’ र छैटौँ दिनलाई ‘साकरात’ भनिने गरेको छ ।
मिठोमसिनो खाने र एकअर्काको घरमा गएर रमाइलो गरेर सन्थालहरुले यो पर्व मनाउँदै आएका छन् । यो पर्वमा चेलीबेटी र पाहुनाहरुलाई निमन्त्रणा गरिएको हुन्छ । उनीहरुले ल्याएका कोसेली वितेका पूर्वजहरुलाई चढाएर नाचगान पनि हुने गरेको छ ।



