झापा, माघ १८ । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीले बिर्तामोडमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

झापा बिर्तामोड ५ स्थित बीएण्डसी हस्पिटलको अगाडिपट्टि उज्यालो नेपाल पार्टी झापा क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरिएको हो। झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार क्याप्टेन सीके( चुडा कर्ण) बेघा र उज्यालो नेपाल पार्टी प्रदेश नं १ का अध्यक्ष बिराज आङ्देम्बे लिम्बूले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका हुन्।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख तथा निवर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङको अध्यक्षतामा रहेको उज्यालो नेपाल पार्टीले आसन्न निर्वाचनका लागि देशैभरिबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार उठाएको छ। यसक्रममा उज्यालो नेपाल पार्टीले झापाका चारवटा निर्वाचन क्षेत्रमा आफ्ना प्रत्यक्ष उम्मेदवार अघि सारेको छ । झापा १ मा नरेश लावती , ३ मा श्यामकृष्ण पाठक र ४ मा इन्जिनियर सन्तोष तामाङ उम्मेदवार बनेका छन् ।
झापा ५ मा भने उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीलाई सघाउने भएको छ । त्यस क्षेत्रमा परिवर्तन पार्टीबाट सविन राईले उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनमा परिणाममुखी नतिजा ल्याउनका लागि उज्यालो नेपाल पार्टीले चुनावी कार्यक्रमलाई अगाडि बढाउन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय स्थापना गरेको जनाएको छ ।

सम्पर्क कार्यालय उद्घाटनपछि कार्यकर्तालाई सम्बोधन गर्दै झापा क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार बेघाले समृद्धि, सुशासन र दिगो विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन्।
कार्यालय उद्घाटनपछि झापा २ मा कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रमलाई अघि बढाइएको उम्मेदवार बेघाले बताए । झापा २ का सम्पूर्ण मतदाताहरुलाई आग्रह गर्दै उम्मेदवार बेघाले आसन्न निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह चिममा मतदान गरी आफूलाई अत्यधिक बहुमतले विजयी गराउन अनुरोधसमेत गरेका छन्।
बेघालाई जिताउन बुद्धिमान खोयाङको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ। फागुन ४ गतेबाट झापा क्षेत्र नम्बर २ का सम्पूर्ण स्थानमा कार्यकर्ता भेला तथा चुनावी कार्यक्रम गर्ने उज्यालो नेपाल पार्टीले जनाएको छ ।
को हुन् उम्मेदवार बेघा ?
पाँचथरको याङवरक १ च्याङथापु पूर्वथलो रहेका बेघाको हालको बसोबास बिर्तामोड ५ किरात चोकमा रहेको छ । ३२ वर्ष भारतीय गोर्खा पल्टनमा सेवारत क्याप्टेन बेघा डेढ वर्षअघि सेवा निवृत भएका हुन् । उज्यालो नेपाल पार्टीका प्रदेश सदस्य बेघाको यो पहिलो राजनीतिक अनुभव हो । त्यसो त उनी सामाजिक क्षेत्रमा निकै समय अगाडिबाट क्रियाशील छन् । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोड , किरात याक्थुङ चुम्लुङ , बेघा सयं थुवोजुङलगायतका संघ संस्थामा उनी आवद्ध रहेका छन् । तीनवटा विषयमा स्नातक गरेका बेघा नेपालको राजनीतिमा परिवर्तन चाहन्छन् ।



