बिर्तामोड, माघ १८ । “क्यान्सरमुक्त भविष्यका लागि युवा” विषयक वक्तृत्वकला प्रतियोगितामा निदि माध्यमिक विद्यालय बिर्तामोडकी सोफिया खड्का प्रथम भएकी छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि झापा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा गोमेन्द्र कलेज बिर्तामोडकी यमुना निरौला द्वितीय र इस्ट होराइजन माध्यमिक विद्यालय मेचीनगरकी सदीक्षा अधिकारी तृतीय भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।प्रतियोगितामा जिल्लाभरका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले क्यान्सर रोकथाम, जनचेतना, जीवनशैली सुधार तथा युवाको भूमिकाबारे प्रभावकारी रूपमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए । वक्तृत्वकलामार्फत युवाहरूले क्यान्सरमुक्त समाज निर्माणमा योगदान दिन सक्ने सन्देश व्यक्त गरेका थिए ।


निर्णायक मण्डलका सदस्यहरू रुद्र थापा, सन्तोष अग्रवाल र मोहन काजी न्यौपानेले सहभागीहरूको प्रस्तुति, विषयवस्तु, आत्मविश्वास र अभिव्यक्ति शैलीको आधारमा मूल्याङ्कन गरेका थिए ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा. अन्जली कार्की प्रसाईले यस्तो कार्यक्रमले युवामा स्वास्थ्य सचेतना बढाउनुका साथै सामाजिक जिम्मेवारी बोध गर्न क्षमता विकास गर्ने विश्वास व्यक्त गरिन् । आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्