झापा, माघ १९ । नक्कली सुन दिएर ठगी गर्दै आएका एक पेशेवर ठग झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका वडा न.३ बस्ने ४३ वर्षीय जितबहादुर बिक रहेका छन् । माघ १५ गते साँझ ५.३० बजे भद्रपुर बजारमा रहेको भोजपुर ज्वेलर्समा बिकले सुन जस्तो देखिने पहेलो धातु (नक्कली सुन) धरौटी राख्न खोजेर ठगी गर्न खोजेका थिए ।

सुन पसलले शंका लागेर वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराउनसाथ प्रहरी टोली आएर उनलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याइएको छ । मुलुकी अपराध संहिता २०७४को ठगी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले यसअघि पनि बिर्तामोडलगायतका क्षेत्रका सुन पसलहरुमा ‘सक्कली गहना हो , आफूलाई इमेरजेन्सी परेकोले बन्दगी राख्न लागेको’ भन्दै नगद लिइ ठगी गरेको खुल्न आएको छ । उनको साथबाट नक्कली गहनाहरु बरामद भएको डीएसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्