झापा, माघ २० । भद्रपुर विमानस्थलमा युवतीसंगै काठमाडौमा थप दुई लागूऔषध कारोवारी पक्राउ परेका छन् ।

पक्राउ परेकी युवतीको बयानको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं ६ वस्ने ३० वर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्बा गाउँपालिका वडा नंः–५ गुन्साल वस्ने २१ वर्षीय थोर्मस तामाङलाई बुढानिलकण्ठ नगरपालिका वडा नंः ६ खड्का भद्रकालीबाट लागूऔषध नियन्त्रण ब्युरो काठमाडौको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । प्रारम्भिक सोधपुछका क्रममा भद्रपुर विमानस्थलमा पक्राउ परेकी २६ वर्षीया रोशनी बुढाले अन्य कारोवारीहरूसमेत काठमाडौमा रहेको बताएकी थिइन् ।

हिजो साँझ ५ः३५ बजे भद्रपुर विमानस्थलमा विमानस्थल सुरक्षा गार्डले चेकजाँच गर्ने क्रममा यती एयरको फ्लाईट नं. ९२६ बाट भद्रपुरबाट काठमाडौ जान लागेकी हुम्ला खार्पुनाथ गाउँपालिका वडा नं. २ घर भई हाल देश भारत कलकत्ताको स्वंव जापानिज रेष्टुरेन्टमा विगत २ वर्षदेखि वेटरको काम गर्दै आएकी रोशनीले लगाएको सुरुवालको दुईवटै गोजीमा २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १४४ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्