लक्ष्मी उप्रेती,
बिर्तामोड, माघ २२ । प्रेस चौतारी नेपाल झापा शाखाले संगठनका पूर्वअध्यक्ष गणेशप्रसाद पोख्रेललाई अभिनन्दन गरेको छ ।

संगठनको २८ औँ स्थापना दिवस तथा वार्षिक साधारण सभाको अवसर पारेर विहीबार बिर्तामोडमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्षसमेत रहेका संगठनका पूर्वअध्यक्ष पोख्रेललाई नगद २५ हजार रुपैयाँसहित अभिनन्दन पत्र प्रदान गरिएको हो । झापा शाखाले एक कार्यकालमा एक जना पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै आएको छ । पोखरेल झापाको तेस्रो अध्यक्ष हुन् ।

त्यस्तै राससकर्मी सन्तोष शर्मालाई संगठनका संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित नगद पाँच हजार रूपैयाँसहित लेखनवृत्ति पुरस्कार प्रदान गरिएको छ । चौतारी झापाले ६–६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विषयमा पत्रकार शर्माले लेखेको समाचार छनोट भएपछि उनलाई नगद पाँच हजार रुपैयाँसहित लेखनवृत्ति प्रदान गरिएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलगायतले पोखरेललाई अभिनन्दन गर्दै शर्मालाई पुरस्कार प्रदान गरेका थिए । पोख्रेलको अभिनन्दन पत्र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सावित्रा दाहाल र शर्माको सम्मान पत्र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोपाल काफ्‌लेले वाचन गरेका थिए ।

प्रेस चौतारी नेपाल, झापा शाखा अध्यक्ष प्रदिप परियारले कार्यक्रमको अध्यक्षता गर्दै आफ्‌नो कार्यकालमा भए गरेका कामको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि निवर्तमान सभामुख घिमिरेले गलत सूचनाले मुलुकलाई ध्वस्त बनाउने बताए । घिमिरेले मुलुकलाई गलत सूचनाको शिकार बनाउनु नहुने भन्दैं पत्रकारले सही सूचना दिएर मुलुकलाई ठिक बाटोमा अघि बढाउनुपर्नेमा जोड दिए ।

संगठनका कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषका संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनाली र धन्यवाद ज्ञापन प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्