झापा, माघ २३ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परी खोटाङ बाराहपोखरी गाउँपालिका–१ का एउटै घरका दाजुभाइसहित १८ जनाको मृत्यु भएको छ ।

मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी बाराहपोखरी गाउँपालिका–१ बाराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र उनका भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो ।
वडाअध्यक्ष ढकबहादुर कार्कीका अनुसार उक्त घटनामा बाराहपोखरीस्थित भञ्ज्याङका ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर, ४५ वर्षीय बमबहादुर खपाङ्गी मगर र ४० वर्षीय कर्णबहादुर खपाङ्गी मगर घाइते भएका छन् ।
उनीहरूमध्ये नरबहादुर र बमबहादुर गम्भीर रहेको समेत कार्कीले सुनाए । उक्त घटनामा उदयपुर साउनेका ललितबहादुर मगर पनि घाइते भएका छन् ।मेघालय पुगेर कोइलाखानीमा काम गर्ने ७ जनाको टोलीमध्ये बाराहपोखरीस्थित वालम्पाका ताराबल मगर मात्र सकुशल छन् । दुर्घटनाका मृतक तथा घाइतेहरू रोजगारीका लागि गत पुष ३ गते घरबाट मेघालय गएको आफन्तले जनाएका छन् ।
सो विष्फोटमा परी १८ जनाको मृत्यु भएको र ८ जना अझै हराइरहेका छन् । सो कोइलाखानी अवैधरुपमा संचालनमा रहेको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत सहयोग दिने घोषणा गरेका छन् ।



