झापा, माघ २३ । झापा ५ मा निर्वाचन जित्न राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहले प्रत्येक वडामा हजारका दरले मत बढाउन आवश्यक देखिएको छ ।

अघिल्लो निर्वाचन २०७९ मा रास्वपाले पाएको समानुपातिक मतलाई हेर्दा झापा ५ मा रहेका २९ वटा वडामध्ये प्रत्येक वडाबाट करिव हजारका दरले मत बढाउन सके बालेनको जित सुनिश्चित देखिएको हो । अघिल्लो निर्वाचनमा झापा ५ मा रास्वपाले एमालेपछि दोस्रो स्थानमा समानुपातिक मत ल्याएको थियो । एमालेले ३५ हजार ८७२ समानुपातिक मत ल्याउँदा रास्वपाले १८ हजार २०५ मत ल्याएको थियो । त्यस्तै कांग्रेसले १६ हजार ८५९ , माओवादी केन्द्रले ८ हजार ६८० र राप्रपाले ७ हजार ३७० मत समानुपातिक मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा पाएको मतमा २९ हजारको हाराहारीमा मत थप्न सके करिव ४७ हजार मतसहित बालेनको जित निश्चित हुने एकजना विश्लेषकले बताएका छन् । बालेनले २९ हजार मत ल्याउन प्रत्येक वडाबाट एक–एक हजारको दरले मत थपेर ल्याउन आवश्यक रहेको ती विश्लेषकको भनाई छ ।

अघिल्लो २०७९ को निर्वाचनमा झापा ५ बाट अध्यक्ष केपी ओली ५२ हजार ३१९ मत प्राप्त गरी विजयी भएपनि एमालेको वास्तविक मत ३५ हजार ८७२ मात्र हो । बाँकी मत अरु दलबाट आएको थियो । आफूहरुले १२ हजार मत ओलीलाई दिएको राप्रपाबाट निर्वाचित दमक नगरपालिकाका नगर प्रमुख राम थापाले दावी गरे । त्यस निर्वाचनमा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

अर्कोतर्फ कांग्रेस र माओवादीले पनि चुनावी तालमेल गरेका थिए । आफ्‌नै दलीय गठबन्धनलाई मन नपराउँदा कांग्रेस र माओवादीको मत पनि ओलीलाई गएको थियो । जसका कारण पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली फराकिलो मतान्तरले विजयी बनेका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई पराजित गर्दै दोब्बरभन्दा बढी अर्थात २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बनेका थिए । अघिल्लो पटक २०७४ मा पनि ओलीले कांग्रेसका अधिकारीलाई नै दोब्बर मतान्तरले पराजित गरेका थिए ।

२०७९ मा एक लाख २ हजार १५० खसेको मतमध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गरेका थिए ।

झापा ५ मा एमालेको मत घट्दो छ भने रास्वपाको मत बढ्दै गएको देखिएको छ । आफूहरुले खसेको मतको ७० प्रतिशत मत हासिल गरी निर्वाचन जित्ने रास्वपाका झापा क्षेत्र नं ५ का निर्वाचन परिचालन समिति संयोजक भेषराज भट्टराईले बताए । दमक नगरपालिकासंगै गौरादह , गौरीगञ्ज र कमलमा बालेनको पक्षमा राम्रो माहौल बनेको उनले दावी गरे ।

झापाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर ५ मा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार यसपटक थपिएका ५० हजार नयाँ मतदातासहित जिल्लामा सात लाख १३ हजार ५३७ मतदाता रहेका छन् ।

उनले क्षेत्र नम्बर ५ मा मात्र ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्