झापा, माघ २३ । धरानमा एमबीबीएस अध्ययनरत सिनियर छात्रले एउटै कलेजमा पढ्ने जुनियर छात्राका बुबा भद्रपुरका खेमराज ढकाललाई सिरिन्ज प्रहार गरी हत्या गरेको खुलेको छ ।

बि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत सिरहा बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थायी घर भएका २६ वर्षीय दिपेशकुमार सिंहले घोपामै एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत जुनियर छात्राका बुवा भद्रपुर नगरपालिका वडा नं. १० त्रिवेणी टोल बस्ने ६६ वर्षीय खेमराज ढकाललाई हिजो साँझ सिरिन्ज प्रहार गरी हत्या गरेका हुन् ।

हिजो साँझ ६;२० बजे खेमराज ढकाल परिवारसंग आफ्नै घरमा बसिरहेको अवस्थामा दिपेशकुमार सिंहले आफूसंगै ल्याएको केमिकल लोड गरिएको सिरिन्जले एक्कासि ढकालको घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते ढकाललाई उपचारको लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा पुर्‍याई चेकजाँचपश्चात् चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै प्रहरीले सिंहलाई पक्राउ गरेको छ । तरल पदार्थ भरिएको सिरिन्जले पीडितको घाँटीमा प्रहार गरिएको थियो । तरल पदार्थमा के कुन तत्वहरु मिसिएको हो ल्याब परीक्षणपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

सिंह हिजो बिहान पनि मृतक ढकालको घर पत्ता लगाई अवकाश प्राप्त शिक्षक चाहिएको छ खोजिदिनुपर्यो भनी बहाना बनाई घरमा आएका थिए । मृतकका छोरी घोपामा एमबीबीएस तेश्रो वर्षमा अध्ययनरत रहेकीले उनीहरुबीच सामान्य चिनाजान रहेको बुझिएको छ । ८/९ महिना अगाडि पनि ढकालकी छोरीको बदनाम गर्ने नियतले सिंहले फोटोहरु इडिट गरि पठाएका थिए । उनीबिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेको पीडितले बताएकी छन् । हत्यामा संलग्न सिंहलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरअन्तर्गत कार्वाही तथा अनुसंधान हुने डीएसपी खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्