आज झापा गोल्डकपको सातौ संस्करण शुरु भइरहँदा पूर्व अध्यक्ष बिनोद बस्नेत स्मृति कप नाम जोडिएकाले दिवंगत बिनोद बस्नेत दाजुका बारेमा लेख्न मन लाग्यो।२०७९ सालतिर घनिष्ठ सम्बन्ध बनिदै गर्दा पहिलेदेखि उहाँसंग मेरो चिनजान थियो।

स्व. बिनोद बस्नेत व्यवसायी र खेलप्रेमी दुबैरुपमा झापामा परिचित हुनुहुन्थ्यो।उहाँले मोटरसाइकलको शोरुम संचालन गर्दैगर्दा थोरै मानिसहरुले चिन्दथे भने झापा गोल्डकपले उहाँलाई देश विदेश सबैले चिन्न थालेका थिए।साखेजुङ ५ हाल इलाम नगरपालिका १ मा जन्मनु भई कर्मक्षेत्र झापा जिल्ला बिर्तामोड १ जगत बस्ती बस्दै आउनु भएको थियो।खानलाउन दुःख नभएका किसान तथा व्यवसायी परिवारमा जन्मेर पिता कृष्णबहादुर बस्नेत र माता सरस्वती बस्नेतको कोखबाट जन्मनु भई जेष्ठ पुत्र बिनोद बस्नेत, राजु बस्नेत र बिपिन बस्नेत गरी तीन भाइ थिए । कोपिला बस्नेतसँग विवाह बन्धनमा बाँधिएर एक छोरीका धनी व्यक्तित्व हुनुहुन्थ्यो।स्वाभिमानी, कर्मठ,व्यवसायी ,खेलप्रेमी र समाजसेवी स्व. बिनोद बस्नेत दाजुको असामयिक र अकल्पनीय निधनबाट म स्तब्ध तथा मर्माहित भएको छु।

बिनोद बस्नेत दाजु आफैमा सक्षम तथा सफल व्यवसायी हुनुहुन्थ्यो।उहाँ विभिन्न संघ संस्थामा आवद्ध भई सम्मानित तथा पुरस्कृत हुनुभएको थियो।समाजको लागि केही राम्रो काम गरौं भन्ने विचार भएका बिनोद बस्नेत हुनुहुन्थ्यो।छैठौ झापा गोल्डकप यस्तो आर्थिक मन्दीका बावजुद सदस्य नवीकरण गर्नु ,नयाँ सदस्य बनाउनु तथा मनकारी मनहरु, दानवीरहरु र प्रायोजकहरु आउनु नै झापा गोल्डकप सफल भएको बुझ्नु पर्दछ।फुटबल खेलमा सानो ठूलो , गरिब, धनी हुँदैन। सबै बराबर र समान हुन्छ भन्नुहुन्थ्यो।

२०८२ सालमा बैशाख २६ गते बिहानको समयमा निजी निवासमा दिवंगत हुनुभयो।उहाँको पार्थिव शरीर हेर्न भीड किन यस्तो गरेको , के भयो,यस्तो कदम लिएको सबैले आँशु झार्दै, दुःख मनाउँदै यो हुन सक्दैन के भयो भनेर सबै छक्क परे ।सर्बसाधारण, व्यवसायीहरु, खेलप्रेमीहरु बुद्धिजीवी,पत्रकार ,संघ संस्थाका प्रतिनिधि, स्थानीय नेताहरु मेयरदेखि जनप्रतिनिधि, शिक्षाकर्मीलगायत उपस्थित रहेका थिए ।उहाँको कानुनी प्रकृया पुरा गरी दिउँसो कन्काई नदीमा अन्त्येष्टि गरिरहँदा हजारौको सहभागिता रहेको थियो।मलामीहरुले उहाँको निधनप्रति दुःख व्यक्त गरिरहेका थिए। उहाँले पैसा कमाउनुकासाथै मलामी पनि कमाउनु भएको रहेछ।यही नै असली धन भएको किरण श्रेष्ठ,रामबावु धिमाल र पत्रकार इन्द्रसिंह राजवशीले भन्नुभएको म अहिले पनि संझिन्छु ।

विश्वमा सबैभन्दा लोकप्रिय खेलमा फुटबल पर्दछ।फुटबल भनेको सबैले बुझ्‌ने प्रायजसोले हेर्न तथा खेल्ने खेल हो ।त्यसैले होला, फुटबलमा अरु खेलभन्दा बढी दर्शक हुने गरेको छ।यति बेला बिनोद बस्नेत स्मृति सातौ झापा गोल्डकप २०८२ को चोकचोक, टोलटोलमा,चिया पसलमा चर्चा चलिरहेको छ।बिनोद दाजुको स्मृतिमा हुन गईरहेको सातौ झापा गोल्डकपमा सपरिवार पाल्नुहुन हार्दिक निमन्त्रणा गर्दछौ।यो ऐतिहासिक जिम्मेवारी बहन गर्दै झापा गोल्डकपलाई अनुशासित, मर्यादित र उत्कृष्ट बनाउन अध्यक्ष केदार गिरीले तपाई सम्पूर्णमा हार्दिक अपिल गर्नुभएको छ।एक पटक डोमालाल राजवंशी रंगशाला आईदिनुस् । झापाबासीहरु र बिशेष रुपमा बिर्तामोडबासीहरुले बिनोद बस्नेत स्मृति सातौ झापा गोल्डकपलाई सफल बनाउन आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरी उत्कृष्ट र अब्बल बनाउनु पर्छ।

बिनोद दाजुले मलाई भन्नु भएको थियो–‘छैठौ झापा गोल्डकप सफल बनाउनु पर्छ भाइ ।’ अनि सुझाव सल्लाह माग्नु हुन्थ्यो । मैले दिएको सुझाव तुरुन्त लागु पनि गर्नु भयो । यहाँका आदिवासी जेष्ठ नागरिकहरु फुटबल हेर्न बोलाउनुस् । उहाँहरु फुटबल हेर्न आउँदा धेरै खुशी हुनुभएको थियो।बिनोद दाजुको साथीभाइको सर्कल देशभरी नै थियो।बिनोद दाजु बाहिरबाट जति कडा देखिएता पनि भित्री स्वभाव कोमल हृदयको हुनुहुन्थ्यो। हामीलाई आँट भरोसा दिने दाई तपाईलाई के कुराले भित्रभित्रै पीडा थियो बुझ्‌न सकिएन ।परिवार थियो, भाइहरु थिए ,आमा हुनुहुन्थ्यो ।यत्रा मिल्ने साथीभाइहरुसंग कुरा गरेर सेयर गरेको भए यो कदम उठाउन हुनुहुन्नथ्यो कि ! सदासदाको लागि हामीलाई छोडेर जानुभयो।कुन कुरा थियो केबल तपाई बाहेक अरुलाई थाहा दिनु भएन?

दाजु तपाई त दर्बिलो व्यक्तित्व हुनुहुन्थ्यो।दाजु तपाईसंग बिताएका पलहरु, सम्झनाहरु,तपाईको मार्गदर्शन, तपाईको सल्लाह सुझावहरु याद आउँछ।एउटा ठूलो दाजु गुमाएको र अभिभावक गुमाएको महसुस भएको छ।उहाँसंग बिताएका पलहरु लेख्न थालेपछि कति पाना हुन्छ थाहा छैन।फेरि उहाँसंग बिताएका पलहरुको बारेमा बेग्लै लेखौला ।

स्व. बिनोद बस्नेत सादा जीवन उच्च विचार,मिलनसार,इमान्दार,स्वच्छ छवि भएको,समाजका लागि जसरी समर्पित भएर काम गर्नु भयो । मान्छे मरेपनि उहाँको विचार, काम, प्रतिष्ठा र कर्म कहिले मर्दैन । त्यो अमर रहन्छ।समाजले एउटा होनहार , उदाउँदै गरेको तारा गुमाएका छौ। उहाँका कलाकृति, समाजमा पुर्‍याएको योगदान अमर रहने छ।मैले यति लेखिरहँदा उहाँको दिब्य आत्माको बैकुण्ठ बास होस् भन्ने कामना गर्दै उहाँलाई गहिरो हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
(लेखक झापा गोल्डकपका सल्लाहकार सदस्य हुन् )

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्