एजेन्सी । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले विजयी शुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर भेट्टायो । पाकिस्तानका साहिबजादा फरहानले सबैभन्दा धेरै ४७ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र पॉल भ्यान मिकरेनले समान २–२ विकेट लिए ।
त्यसअघि श्रीलङ्काको कोलम्बोमा रहेको सिंहाली स्पोट्र्स क्लब क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभर ५ बलमा १ सय ४७ रन बनाएर अलआउट भयो । नेदरल्यान्ड्सका स्कट एडवड्र्सले सबैभन्दा धेरै ३७ रन बनाए । पाकिस्तानका सलमान मिर्जाले ३ विकेट लिए ।आजै हुने दोश्रो खेलमा केहीबेरमा वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । कोलकाताको इडेन गार्डेनमा स्कटल्यान्डले टस जितेर बलिङ रोजेको छ । यस्तै आजको तेश्रो तथा अन्तिम खेलमा आयोजक भारत र अमेरिका खेल्दैछन् ।
यो खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरु हुनेछ । यो विश्वकपमा नेपालले पनि खेल्दैछ । नेपालले भोलि मुम्बईमा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरूवात गर्नेछ । यो विश्वकपमा सुरक्षा कारण देखाउँदै बङ्गलादेश भारत आउन नमानेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उसको ठाउँमा स्कटल्यान्डलाई समावेश गरेको छ ।
प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोलीले टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।



