बिर्तामोड,माघ २४ । बिर्तामोड ५ स्थित गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं बार्षिकोत्सव तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको ११ औं स्मृति दिवसमा निःशुल्क आँखा शिबिर सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा ३३९ जनाले आँखा परीक्षण गराएका थिए । शिविरमा आँखा जाँच गरिएकामध्ये मोतीबिन्दुको समस्या देखिएका ९ जनाको अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङले आर्थिक अभावकै कारण कसैले पनि आँखाको स्वास्थ्य समस्या खेप्नु नपरोस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । स्वर्गीय काशीलाल चौधरीको भौतिक शरीर नभएपनि सदैव सम्झिरहने एक आदर्श व्यक्तिका रुपमा आफूले चिनेको बताउँदै अध्यक्ष गुरुङले सेवा नै सबैभन्दा ठूलो पुण्य भएको उल्लेख गरे । कसैले खर्चको अभाव भएर आँखाको उपचार गर्न नसकेको भए आफू वा अस्पतालमा सम्पर्क गरे सहयोग गर्न तयार रहेको उनले आश्वासन दिए ।

सो अवसरमा अस्पतालकी अधिकृत कविता कार्की कडरिया, कोहेड टोल विकास संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीलगायतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्यसहित औचित्यमाथि अध्यक्ष चौधरीले प्रकाश पारेको कार्यक्रमको संचालन सचिव रुपा राजवंशीले गरेकी थिइन् । कार्यक्रममा समाजसेवीहरु पुष्पलाल चौधरी,तेजनारायण चौधरी, सुरेन राजवंशी ,आनन्द गुरुङ ,चन्द्र मिश्र , भीम खनाल, जात्रुवारी संगीत टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरी , आवद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरेश भट्टराई ,उन्नतिशील महिला समूहकी सचिव इन्दिरा आचार्य , इन्द्रेणी महिला समूहकी अध्यक्ष पवित्रा लावतीलगायतको उपस्थिति रहेको थियो ।

शिविरमा बालबालिका, ज्येष्ठ नागरिकसहित सबै उमेर समूहले आँखा परीक्षण गराएका थिए । शिविरमा प्राविधिक सहयोग मेची आँखा अस्पतालको रहेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् ।



