झापा, माघ २५ । झापामा अत्यधिक सवारी दुर्घटना हुने क्रममा एक महिना नबित्दै १८ जनाको मृत्यु भएको छ । यो माघ महिनाको २५ दिनभित्र त्यति धेरैजनाले ज्यान गुमाउनु परेको हो ।


अर्जुनधारामा लगातार दुईजनाले ज्यान गुमाएका छन् । गएराति र आज बिहान गरी दुईजनाको मृत्यु भएको हो । बिरिङ खोलामा ट्रयाक्टरले किचेर सहचालकको मृत्यु भएको छ ।

आज बिहान ९ः४० बजे अर्जुनधारा ७ स्थित बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडी बढाउने क्रममा प्र१–०१–००१त ९०१० न. को ट्रयाक्टरको डालामा सवार सोही ट्रयाक्टरका सह–चालक अर्जुनधारा ३ बस्ने हर्क श्रेठका छोरा बर्ष १६ का सरोज श्रेष्ठ ट्रयाक्टरबाट खस्दा उनलाई पछाडीको चक्काले किचेको थियो । घाइतेलाई उपचारको लागि शंकर अस्पताल शनिश्चरे ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।

प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर ट्रयाक्टर र ट्रयाक्टर चालक अर्जुनधारा ७ बस्ने ४६ वर्षीय पदमबहादुर दर्जीलाई नियन्त्रणमा लिएको छ । साथै ट्रयाक्टरका साहु अर्जुनधारा ४ बस्ने ५६ वर्षीय अशोकलाल दनुवारलाई पनि प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा गएराति ९;१० बजे घाइते बास्कोटाको मृत्यु भएको हो । माघ २१ गते बिहान ६ः३० बजे अर्जुनधारा ३ गरुवा चौकस्थित बिर्तामोड– खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

स्कुटी चालक इलाम माई नगरपालिका ३ बस्ने ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । झापामा सवारी दुर्घटनाबाट मानवीय क्षति हुने क्रम निकै बढेको हो । माघ १ गते एकैदिन तीनजनाले ज्यान गुमाएका थिए भने त्यसयता प्राय दिनहुँ दुर्घटनामा मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्