झापा, माघ २६ । आगामी निर्वाचनका लागि झापा ५ मा उम्मेदवारी दिएका एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहले एकैसाथ घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

यसअघि अघिपछि घरदैलो गरेका उनीहरुले हिजो एकैसाथ घरदैलो गरेका हुन् । बालेनले दमकको वडा नं ५ र ७ मा घरदैलो गर्दा ओली कमल गाउँपालिकामा घरदैलोमा व्यस्त रहेका थिए ।

हिजो बिहान करिव ११ बजेदेखि कमल गाउँपालिकाको पाडाजुँगीबाट घरदैलो शुरु गरेका ओलीले गणेश मन्दिर, टुक्रे ,स्वामी चौक ,गजुरमुखी टोल ,खयरबारी , झर्का , बाह्रघरे , रङपुर , गेउरिया ,दही चौकलगायतका ठाउँमा पुगेर मतदातासंग भेट गरेका थिए ।

त्यस्तै दिउँसो साढे ३ बजेबाट घरदैलो थालेका बालेनले पशुहाट , नमूना बस्ती , दुर्गा मन्दिर , शिवालय मन्दिर , बेलडाँगी चोक , गोलाटार , ढुकुरपानी , हिमाली मावि अगाडि , पांगिनी चोक , धिमाल बस्ती , डिकुचोकमा मतदाताहरुसंग भेटघाट गरी भोट मागेका छन् । ओली र शाहले हिजो निर्वाचन क्षेत्रको दुई फरक दिशामा घरदैलो गरेका हुन् ।

ओलीको आज सीमावर्ती दक्षिणी गाउँ गौरीगञ्जमा घरदैलो गर्ने कार्यक्रम रहेको जनाइएको छ । हिजो साँझ घरदैलो सकेर उर्लाबारी बसेका बालेनको चुनावी कार्यक्रमको बारेमा भने जानकारी नरहेको प्रहरीले जनाएको छ । आज बालेनले कमलमा घरदैलो गर्ने बुझिएको छ ।

बालेनले हिजो दमकमा रहेको एमालेको सम्पर्क कार्यालयमा समेत पुगेर भोट मागेका थिए । एक अर्काको खरो प्रतिष्पर्धी मानिएका ओली र बालेनबीच घरदैलोका क्रममा भेट हुन नदिन प्रहरी सतर्क रहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले बताए । उम्मेदवारी दर्ताकै दिन एमाले र रास्वपाका कार्यकर्ताबीच दमकमा झडप भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्