भद्रपुर, माघ २६ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसीपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

समूह बी अन्तर्गत आज भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जीतका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यी दुबै टिमले आफ्नो पहिलो खेल जितेका थिए । हिजो भएको पहिलो खेलमा लखनउले पोखरालाई पराजित गरेको थियो भने दोस्रो खेलमा डडेल्धुराले भारतको सिक्किमलाई हराएको थियो ।
आजको पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिले ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनको सामान्य स्कोर बनाएको थियो । पोखरालाई सस्तैमा समेट्न डडेल्धुराका अय्यर र युवराज खत्रीले समान २–२ विकेट लिए । ब्याटिङमा पोखराका तर्फबाट दिपकप्रसाद डुम्रेले सर्वाधिक ३० रनको योगदान दिए ।
जवाफमा डडेल्धुराले उत्कृष्ट ब्याटिङको प्रदर्शन गर्दै ३ विकेट क्षतिमा १०.३ ओभरमै लक्ष्य हासिल गरेको थियो । त्यसका लागि डडेल्धुराका सन्नी बिकले आक्रामक ब्याटिङ गर्दैै २४ बलमा ४८ रनको विष्फोटक पारी खेले । उनले ३ छक्का र ५ चौका प्रहार गरे । बलिङमा पोखराका तर्फबाट सुवास भण्डारी, कृष्ण पौडेल र उद्धव दाहालले समान १–१ विकेट लिए ।
दोस्रो खेलमा पहिलो ब्याटिङ गर्दै लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४६ रन बनायो । जवाफमा सिक्किमले १९.२ ओभरमा सबै विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो । यसरी लखनउ ४८ रनले विजयी भयो
ब्याटिङमा लखनउका तर्फबाट रमन कदयानले सर्वाधिक ४८ रन बनाए भने सिक्किमका तर्फबाट रुसभ राथोडले सर्वाधिक २८ रन बनाए । बलिङमा सिक्किमका तर्फबाट अक्षय सैनले ४ ओभरमा १४ रन मात्र खर्चिएर २ विकेट लिए भने लखनउका तर्फबाट ४ जना बलरले २–२ विकेट लिए ।
मंगलबार दुई खेल भएसँगै समूह चरणका सबै खेल पूरा हुने आयोजक भद्रपुर क्रिकेट क्लवका संयोजक गौरव सुब्बा ‘मनोज’ले जानकारी दिए ।
टी–२० क्रिकेटको विश्वकप चलिरहेको अवस्थामा पनि प्रतियोगितामा दर्शकको उत्साह र उल्लेख्य सहभागिता रहेको संयोजक सुब्बाले बताए ।



