झापा, माघ २६ । झापाको बुद्धशान्तिमा रोकिराखेको ट्रयाक्टरको डालामा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

दुई दिनअघि माघ २४ गते राति ८ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा न. २ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकल बाटोमा रोकिराखेको मे १ त ७७६७ नम्बरको ट्रयाक्टरको पछाडी डालामा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा –६ बस्ने बर्ष ३५ का प्रबिण आङदेम्बे र सोही मोटरसाइकलमा पछाडी सवार पाँचथर फाल्गुनन्द –७ घर भई हाल बिर्तामोड १ बस्ने बर्ष ४८ का हरि आङदेम्बे घाइते भएका थिए । दुवैजना घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा आज दिउँसो २ः३० बजे मोटरसाइकल चालक प्रबिण आङदेम्बेको मृत्यु भएको हो । मृतकको शव सोहि अस्पतालमा रहेको छ ।
अर्का घाइते बीएण्डसीमा उपचाररत रहेका छन् । मोटरसाइकल, ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर –२ बस्ने बर्ष ४० का बिरबहादुर बिश्वकर्मालाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।
यो माघ महिनामा झापामा अत्यधिक सवारी दुर्घटना भइरहेको छ । माघको २६ गतेसम्म सवारी दुर्घटनामा परी १९ जनाले ज्यान गुमाइसकेका छन् ।



