झापा, माघ २७ । झापाको बिर्तामोड २ चारपाने लालमाटीमा रहेको ओमकार रेडिमेन्स कङ्क्रिट प्रालिमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

गएराति ११ बजे कङ्क्रिट उद्योगमा हेल्परको काम गर्ने शिवसताक्षी ४बस्ने बर्ष२८का राजिव राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो । मिक्स्चर मेसिन सफा गर्ने क्रममा मेसिनमा हिल्टि हान्दा करेन्ट सर्ट भई राजवंशीलाई करेन्ट लागेको थियो । घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली गएको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि आज बिहान प्रहरी टोली जाने जनाइएको छ ।



