बिर्तामोड, माघ २७ । चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेल अवधिभर आर्मीले लालीगुराँस एसोसिएसन पोखराको दबाबको सामना गर्दै नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

टाइब्रेकरमा पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरे ।

पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले मात्र गोल गरे । पोखराका लक्षु थापाको प्रहार बाहिरियो भने विसन गुरुङको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले असफल बनाए ।

पहिलो हाफमा विपक्षीको दबाब व्यहोरेको आर्मीले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । आर्मीले खेलको ७९ औँ मिनेटमा विपक्षी पोष्टमा सशक्त आक्रमण गरेको थियो । आर्मीका जर्जप्रिन्स कार्कीले प्रहार गरेको पावरफुल सट पोखराका गोलकिपर अनिस महतोले पञ्च गरेर बचाएका थिए ।

इन्ज्युरी समयमा आर्मीले विपक्षी पोष्टमा निरन्तर आक्रमण गर्यो । जिलेस्पीजंग कार्कीले डिबक्समा अनमार्क रहेको समयमा गरेको प्रहार महतोले विफल बनाए । लगत्तै जर्जप्रिन्सको हेडर क्रस बारमा लागेर बाहिरियो ।

पोखराले भने पहिलो हाफमा आर्मीमाथि दबाब कायम राखेको थियो । ३० औँ मिनेटमा पोखराका मुकुन्दकुमार न्युरोले आर्मीका गोलकिपरसँग वान भर्सेस वान गोल गर्न सकेनन् । ७४ औँ मिनेटमा टिकाराज गुरुङले प्रहार गरेको बल गोलकिपरले उत्कृष्ट बचाउ गर्दा खेलमा अग्रता लिने अवसर पोखराले गुमाएको थियो ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका गोलकिपर विकेश कुथु घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुनेछ ।

प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभी पाए । बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई एक थान टेलिभिजन उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर खेल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्