झापा , माघ २७ । रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बबी तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् ।

‘१२ वटा शव अस्पतालमा ल्याइएको छ, त्यसमध्ये एक जनाको नाम खुलेको छैन’, अस्पतालले भनेको छ । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ आउँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।

सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिए ।

काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख. ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको बताए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । बसका बाँकी यात्रुको अझै खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्