झापा, माघ २८ । झापाको सीमावर्ती क्षेत्र गौरीगंजबाट लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

आज दिउँसो १;३० बजे गौरीगंज – २ स्थित बाहुन टोलमा आँपगाछीबाट बाहुन टोलतर्फ आउँदै गरेको मे १ह ५६६७ नम्बरको अटोलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा अटोको खुट्टा राख्ने म्याटमुनि लुकाई राखेको अवस्थामा प्लाष्टिकसहित ७ ग्राम ५०० मिलिग्राम र प्लाष्टिक बाहेक ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
सो लागूऔषधसहित अटोचालक शिवसताक्षी २ मनोहरा घर भई हाल दमक वडा नं. ८ बस्ने वर्ष ३४ का दिलकुमार विश्वकर्मा ,गौरादह वडा नं. ८ भुँडीसिमल बस्ने वर्ष २७ का अमन ताजपुरिया ,सुनसरी धरान उपमहानगरपालिका वडा नं. १६ घर भई हाल दमक वडा नं. ८ बस्ने वर्ष १९ की दिपा परियार र मोरङ बेलबारी वडा नं. ९ घर भई हाल दमक वडा नं. ८ बस्ने वर्ष १९ की पार्वती चौधरी पक्राउ परेका छन् ।
उनीहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



