झापा, माघ २९ । मोटरसाइकल दुर्घटनामा शिवसताक्षी नगरपालिकाका अधिकृत गंभीर घाइते भएका छन् ।

हिजो साँझ ७ः५० बजे कनकाई नगरपालिका – ८ लक्ष्मीपुरस्थित पूर्वपश्चिम सडकखण्डमा चारपानेबाट सुरुङगातर्फ जाँदै गरेको प्र १–०१–००१ ब १३१० न. को मोटरसाइकल आफै अनियन्त्रित भई डाइभर्सनको नालीमा पसि दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर मिक्लाजुङ गाउँपालिका – १ घर भई शिवसताक्षी नगरपालिकामा प्रशासन शाखामा कार्यरत अधिकृत (प्रशासन प्रमुख) ४२ वर्षीय इश्वरकुमार भट्टराई घाइते भएका हुन् ।
घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । निधार र टाउकोमा चोट लागेका भट्टराईको अवस्था गम्भीर रहेको छ ।निधारमा चोट र नाकको हड्डी भाँचिएकाले आइसीयुमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भट्टराई हिजो कार्यालय गएका थिएनन् । कार्यालयबाट सवारी पास नलिएको र कार्यालयको कामकाजको लागि खटिएको भन्ने जानकारी नभएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।



