काठमाण्डौ, माघ २९ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ ।


नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२ ओभर ४ बलमा एक विकेट पनि नगुमाई भेट्टाएको हो । इटालीका एन्थोनी मोस्काले ६२, जस्टिन मोस्काले ६० रन बनाए ।

यसअघि भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो । नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाए । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए । आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गरेका छन् । उनी शेर मल्लको ठाउँमा टोलीमा परेका हुन् ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल इङ्ग्‌ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै पहिलो पटक विश्वकप खेलेको इटालीको यो पहिलो जीत हो । पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो ।लगातार दोस्रो हारले नेपालको सुपर एट प्रवेशको सम्भावना कमजोर बनेको छ ।

टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।

प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्