झापा, फागुन १ । भारतबाट भारी मात्रामा लागूऔषध ल्याउँदै गरेको अबस्थामा गौरीगंजमा दुईजना युवा पक्राउ परेका छन् ।

आज दिउँसो १;४५ बजे गौरीगंज– २ आँपगाछीमा दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे१०प ८४३२ नम्वरको स्कुटीलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी सहायक निरीक्षक कैलाशकुमार मण्डलको कमाण्डमा खटिएको टोलीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा स्कुटी पछाडी सवार कमल ५ बस्ने वर्ष अन्दाजी ४० का सूर्यबहादुर वि.क.को साथबाट प्लाष्टिकसहित ४७ ग्राम ९५० मिलिग्राम र प्लाष्टिकबाहेक ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । सो लागूऔषध र स्कुटीसहित स्कुटी चालक कमल ५ बस्ने वर्ष २२ का संजोक राईलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



