झापा, फागुन १ । निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापामा देशकै नेता र उम्मेदवारहरु केन्द्रीकृत भएपछि आउजाउ गरिने चन्द्रगढी विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी भद्रपुर ८ स्थित चन्द्रगढी विमानस्थलमा हिजोदेखि नेपाली सेना परिचालन गरिएको छ । विमानस्थलको टर्मिनलबाहिर सुरक्षा दिने गरी अरिदमन गण चारआलीका मेजरको कमाण्डमा सेनाको एउटा नफ्री तैनाथ गरिएको हो । हाललाई २५ जनाको फौज विमानस्थलमा खटाएको जनाइएको छ ।

हिजोदेखि विमानस्थलको पेरिमिटर बाहिर सेनाले सुरक्षाको जिम्मा लिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीले बताए । उनले पेरिमिटरभित्रको सुरक्षा विमानस्थलको सुरक्षागार्डले गर्ने र बाहिरको सुरक्षा सेनाले हेर्ने जानकारी दिए । चन्द्रगढी विमानस्थलमा प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना प्रहरी विमानस्थलको सुरक्षागार्डको रुपमा खटिएका छन् ।

निर्वाचन नजिकिदै गर्दा काठमाडौंबाट हवाई मार्ग हुँदै चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने र सोही विमानस्थल हुँदै फर्किने राजनीतिक व्यक्तिहरुको संख्या बढ्दै गएको छ । झापा ५ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनभित्र चन्द्रगढी विमानस्थल हुँदै दुईपटक आएका थिए भने एकपटक काठमाडौ फर्किएका थिए । त्यस्तै ओलीका प्रतिष्पर्धी राष्ट्रिय सवतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह( बालेन) एकपटक चन्द्रगढी बिमानस्थल हुँदै आएका थिए ।
त्यस्तै झापा ३ मा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन , उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ , इलाम २ का उम्मेदवार सुहाङ नेम्बाङ ,एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले पनि सोही विमानस्थल प्रयोग गरेका छन् । करिव चार महिना दमक –९ स्थित मिनी दरवारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरु पनि सोही विमानस्थल हुँदै राजधानी ओहोरदोहोर गरिरहन्छन् ।

सुरक्षा संवेदनशीलतालाई हेरेर सतर्कता अपनाइएको कार्यालय प्रमुख खत्रीले बताए । झापाका उम्मेदवारहरुले मात्र होइन , इलाम , पाँचथर र ताप्लेजुङका उम्मेदवारहरुले समेत सोही विमानस्थल प्रयोग गर्छन् ।
दैनिक १८ सयको हाराहारीमा यात्रुहरु आउजाउ गर्ने चन्द्रगढी विमानस्थल देशकै सातौं ठूलो विमानस्थल मानिन्छ । त्यहाँ दैनिक १३ वटा विमानले उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्