झापा, फागुन २। पत्रकारको दीगो हितमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखालाई नगद ५१ हजारसहित यस वर्षको श्री भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

पत्रकार महासंघ झापा शाखाले २०८१ बैशाख ३ गते एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको पत्रकार सहारा उपचार अक्षयकोष घोषणा गरी पत्रकारको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
शनिबार इलामको रोङ गाउँपालिका–५ इरौंटार, पाखागाउँमा आयोजित समारोहका वीच पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान बुद्धशान्ति–५ द्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडा, भुर्तेल परिवारका सदस्यहरुले सामूहिक रुपमा पत्रकार महासंघलाई उक्त सम्मान प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा नगद ५१ हजारसहित रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार साङ्वो सुवासलाई छत्र खतिवडा स्मृति प्रथम सिर्जनशील पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै पवित्रा–भेषराज खतिवडा स्मृति सामुदायिक विद्यालय स्तरीय शैक्षिक पुरस्कार समेत वितरण गरियो । जस अन्तर्गत उत्कृष्ट विद्यालयको रुपमा नगद ७५ हजारसहित मेचीनगर–१३ चारआलीस्थित शहीद दशरथ चन्द माविलाई सम्मान गरियो । विद्यालयका प्रधानाध्यापक लेखनाथ पौडेलसहित विद्यालयको टिमले सम्मानपत्र ग्रहण गरेका थिए ।
उत्कृष्ट शिक्षक पुरस्कार शान्ति आदर्श माविका प्रधानाध्यापक पूर्णबहादुर राईलाई प्रदान गरियो भने उत्कृष्ट विषयगत शिक्षक पुरस्कार मेचीनगर–११ स्थित बलभद्र जनता माविका विज्ञान विषयका शिक्षक देवीप्रसाद खतिवडालाई प्रदान गरियो ।
प्रतिष्ठानले लोपोन्मुख जाति छात्रवृत्तितर्फ शान्ति आदर्श माविमा कक्षा ११ मा अध्ययनरत सोनाम लाप्चा र विनिशा लाप्चालाई पुरस्कृत गर्यो । त्यस्तै ०८१ सालको एसइईमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने धुलाबारी माविका सभियन प्रधान र कृषा ओझालाई पुरस्कृत गरियो । उक्त पुरस्कारको राशि जनही सात हजार पाँच सय रहेको छ ।
प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा परिवारका ज्येष्ठ सदस्यको रुपमा रामप्रसाद खतिवडा (८२)लाई सम्मान गरिएको थियो । छनौट समितिका सदस्य शिवकुमार पौडेलले शैक्षिक पुरस्कारहरुको घोषणा गरेका थिए । अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा सदस्यहरु शिवकुमार पौडेल, जय भण्डारी र शिरो सान्दाइ रहेको छनोट समितिले पुरस्कृत प्रतिभा र संस्थाको छनोट गरेको पत्रकार दिपेन्द्र पौडेलले जानकारी दिए ।



