कुमरखोद, फागुन २ । झापा गाउँपालिका–२ बालुवाटारधाममा शनिवारबाट दुई दिवसीय धार्मिक कार्यक्रम ‘शिव चर्चा सत्संग’ सुरु भएको छ।

जगतगुरु शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सत्संग उद्घाटन भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शंकराचार्य हेमानन्द गिरीले धर्म, संस्कार र आध्यात्मिक चेतनाले समाजलाई एकताबद्ध बनाउने बताइन्। उनले भनिन्, “मानव जीवनलाई सही मार्गमा अघि बढाउन धर्मको मार्गदर्शन आवश्यक हुन्छ। शिव तत्व आत्मशुद्धि, सहिष्णुता र सद्भावको प्रतीक हो। समाजमा बढ्दो विकृति र असहिष्णुतालाई अन्त्य गर्न सत्संग र धार्मिक शिक्षाको विस्तार अपरिहार्य छ।”

उनले युवापुस्तालाई संस्कृति र सनातन परम्पराप्रति जागरूक हुन आग्रह गर्दै धर्मलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखिन्। “धर्म केवल मन्दिरभित्र सीमित विषय होइन, यो जीवन जिउने पद्धति हो,” उनले भनिन्।

सत्संगमा कथावाचक साध्वी तारा दाहालले शिव महिमा सम्बन्धी प्रवचन गर्ने भएकी छन् । कार्यक्रममा कोशी प्रदेश सांसद लख्खीकुमारी गणेश, गौरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, झापा क्षेत्र नं. ४ का प्रत्यक्ष उम्मेदवार देउकुमार थेवे, वडा नं. २ का अध्यक्ष हिमालकुमार चम्लागाई , विश्व हिन्दु परिषद झापा गाउँपालिका अध्यक्ष ज्ञाननाथ उप्रेतीलगायत जग्गादाता, समाजसेवी व्यक्तित्व तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

जागेश्वर शिव पाञ्चायन मन्दिरका अध्यक्ष डेम्रा हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सचिव भीम घोर्सानेले गरेका थिए भने कार्यक्रमको संचालन मोहन घिमिरेले गरेका थिए । आयोजकका अनुसार सत्संगमा भजन–कीर्तन, धार्मिक प्रवचन तथा आध्यात्मिक चर्चा हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्