झापा, फागुन ३ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानले अनिश्चितकालीन बन्द र आम हड्ताल गर्ने चेतावनी दिएको छ ।

सरकारले आफूहरुसंग गरेको १२ बुँदे सहमति फागुन ७ गतेसम्ममा हु–बहु कार्यान्वयन नगरे फागुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गर्ने अभियानले चेतावनी दिएको हो । सो संगठनले यसअघि पनि त्यस्तो चेतावनी दिएको थियो । निर्वाचनको तयारी भइरहेका बेला प्रसाईबाट आएको त्यस किसिमको चेतावनीलाई सुरक्षा निकायले सामान्यरुपमा लिएको छ ।

पटक पटक असहज क्रियाकलाप गर्दा प्रसाई धेरै पटक पक्राउ परिसकेका छन् । प्रसाई नेतृत्वको अभियान र नागरिक बचाउ दलले बहिष्कार गर्दैमा निर्वाचनलाई खासै असर नपुग्ने विश्लेषण गरिएको छ । झापाका एकजना सुरक्षा अधिकारीका अनुसार प्रसाईको गतिविधिप्रति निगरानी भइरहेको छ । प्रसाईको क्रियाकलापबाट निर्वाचनलाई ठूलो असर पुग्न सक्ने नदेखिएको उनले बताए ।

नागरिक बचाउ दलका अध्यक्ष माधव कल्पितले झापा जिल्लाका सबै पालिकामा आफूहरुको ठूलो संख्यामा कार्यकर्ता रहेको दावी गरेपनि सुरक्षा अधिकारीहरुले जिल्लाभर करिव दुईसयको संख्यामा मात्र प्रसाईको समर्थक रहेको बताएका छन् । नागरिक बचाउ दलका अध्यक्ष कल्पितले आफूहरुले निर्वाचनमा भाग नलिएपनि अरुलाई अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्