झापा, फागुन ६ । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ५ को आयोजनामा क्यान्सर र गुप्तरोग सम्बन्धी एक दिवसीय सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

आफ्ना सदस्यहरुको स्वास्थ्यलाई ध्यान दिँदै क्यान्सर रोगका बारेमा सचेतना दिन सो कार्यक्रम गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा समता युथ ग्रुप तथा समता गुप्तरोग स्वास्थ्य सेवा संस्था विराटनगरका राजीव बस्नेत र ट्रमा सेन्टर मंगलवारेका डा. ब्रोमिस बुढाथोकीले सहजीकरण गरेका थिए । सहकारी संस्थाका उपाध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ममता राजवंशीले गरेकी थिइन् ।

समता युथ ग्रुप तथा समता गुप्तरोग स्वास्थ्य सेवा संस्थाको प्राविधिक सहयोग रहेको कार्यक्रममा सहकारी संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जनश्रुती महिला साकोसले यसअघि गत माघ १६ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको व्यवस्थापक शोभा रिमालले जानकारी दिएकी छन् ।




