झापा, फागुन ७ । विभिन्न संचारमाध्यम र संघ संस्थाहरुले झापाका निर्वाचन क्षेत्रहरुमा संचालन गर्दै आएको ‘पब्लिक डिबेट’प्रति राजनीतिक दल र उम्मेदवारहरुले प्रश्न उठाएका छन् ।

पव्लिक डिबेटको औचित्य र निष्पक्षतामाथि उनीहरुले प्रश्न उठाएका हुन् । त्यही भएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले कुनै पनि ‘पब्लिक डिबेट’ मा सहभागी नभएको बताएका छन् भने सहभागी भएका नयाँ दलका उम्मेदवारहरुले सो कार्यक्रमको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन् ।

गत माघ २९ मा झापा–३ का उम्मेदवारहरुलाई एउटै कार्यक्रममा राखेर स्थानीय जेसीजले पब्लिक डिबेटको आयोजना गरेको थियो । उक्त कार्यक्रममा स्वतन्त्रसहित प्रमुख दलका प्रायः सबै उम्मेदवारहरू उपस्थित भए । तर, रास्वपा झापा–३ का उम्मेदवार प्रकाश पाठक उपस्थित भएनन् ।

त्यस्तै न्युज २४ टेलिभिजनले फागुन ५ गते झापा– ५ मा पब्लिक डिबेट आयोजना गरेको थियो । दमकस्थित पशु हाटनजिक आयोजना गरिएको पब्लिक डिबेटमा झापा ५ का उम्मेदवारहरु एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङलगायत सहभागी भए । तर, झापा– ५ मा उम्मेदवार रहेका रास्वपा वरिष्ठ नेता बालेन शाह उक्त कार्यक्रममा सहभागी भएनन् । उनी दमकबाट धनगढीतर्फ लागे ।

त्यस्तै न्युज २४ ले बिहीबार बिर्तामोडमा झापा– २ का उम्मेदवारबीच पब्लिक डिबेटको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि झापा– २ का रास्वपा उम्मेदवार इन्दिरा राना मगर उपस्थित भइनन् । अरु पार्टीका उम्मेदवार सहभागी भए ।

नागरिकको घरदैलोमै पुगेर आफूहरुले प्रत्यक्ष संवाद गर्दै आएको झापा ३ का उम्मेदवार रहेका रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकले बताए ।‘ हाम्रो लागि पव्लिक डिबेटभन्दा मतदाताको घरमै पुगेर उहाँहरुको प्रश्न सुन्नु महत्वपूर्ण कुरा हो ’उनले भने, ‘चुनाव प्रचार प्रसारको अवधि थोरै भएकाले समय व्यवस्थापन गर्न सकिरहेका छैनौं । ’आफूहरुको कार्यतालिका प्रभावित पार्नेगरी कार्यक्रममा सहभागी हुन असमर्थ हुने उनले बताए ।

अर्कोतर्फ बिहीवारको पव्लिक डिबेटमा सहभागी भएका उज्यालो नेपाल पार्टीका उम्मेदवार सीके बेघाले सो कार्यक्रमको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । कार्यक्रममा आफ्‌ना कुरा खासै राख्न नदिएको गुनासो गरेका बेघाले संचारमाध्यम र संचारकर्मीहरुले पुराना दलहरुलाई नै बढी प्राथमिकता दिने गरेको आरोपसमेत लगाए । केही राजनीतिक दल , तिनका उम्मेदवार र कार्यकर्ताहरुले पव्लिक डिबेटलाई चुनावी मुद्धा बनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्