झापा, फागुन ८ ।झापामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ हजार ३८० जना जनशक्ति परिचालन गरिने भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ हजार ९३० जना कर्मचारी , २ हजार ४१५ जना स्वयंसेवक र निर्वाचन अधिकृतको कार्यालयबाट ४५ जना खटिने छन् । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले त्यसबाहेक जिल्ला निर्वाचन कार्यालयबाट केही कर्मचारी खटिने जानकारी दिए ।

झापामा २८५ वटा मतदानस्थल र ८१५ वटा मतदानकेन्द्र रहेका छन् । एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी रहने छन् । एकजना मतदान अधिकृत , एकजना सहायक मतदान अधिकृत , तीनजना सहायक कर्मचारी र एकजना कार्यालय सहयोगी रहने मुख्य निर्वाचन अधिकृत उमेश लुइटेलले बताए ।

झापामा तीनवटा अस्थायी मतदानकेन्द्रको पनि व्यवस्था गरिएको छ । दमक नगरपालिका , झापा कारागार र कर्मचारी मिलन केन्द्र भद्रपुरमा अस्थायी मतदानकेन्द्र रहने जिल्ला निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

अस्थायी मतदानकेन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगी कर्मचारीसहित तीनजनाका दरले खटाइने जनाइएको छ ।

झापामा फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको छ । फागुन १७ गतेसम्म संचालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि १३१ वटा वडामा १३१ जना मतदाता शिक्षा स्वयंसेवक र १५ जना मतदाता शिक्षा अनुगमनकर्ता खटाइएको छ ।

झापामा निर्वाचनका सम्पन्न गराउनका लागि जनपद प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना र निर्वाचन प्रहरी गरी लगभग ९ हजार सुरक्षाकर्मी खटाइने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्