झापा, फागुन ९ । रौतहटको सदरमुकाम गौर नगरपालिका–६ सवगढामा शनिबार दुई पक्षबीच झडप भएको छ । अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले झडपले अवस्था तनावग्रस्त बनेपछि दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको बताए । ‘हामी अवस्था नबिग्रियोस् भनेर कर्फ्यु लगाएका छौं,’ उनले भने, ‘अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरेर अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’
प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यु आदेश जारी भएको छ । केही समयअघि झडपको क्रममा एउटा सवारीसाधनमा आगजनी भएको थियो । त्यसपछि अवस्था तनावग्रस्त बनेको हो ।
शुक्रबार दुई समूहबीच झडप भएपछि प्रजिअ भुसालको पहलमा साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो।
शनिबार बिहान करिब ९ बजेदेखि पुनः ढुंगामुढा हुन थालेपछि स्थिति तनावपूर्ण बनेको हो। झडप बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
वार्तामा सामाजिक सद्भाव कायम गर्ने, संयमता अपनाउने र आसन्न निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायत ६ बुँदे प्रतिबद्धता गरिएको प्रशासनले जनाएको थियो।
सवगढामा जन्ती गएको बेला दुई समुदायबीच विवाद उत्पन्न भई ढुंगा हानाहान भएको थियो। सो घटनामा केही घाइते भएका थिए । घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले सर्वसाधारणलाई संयमता अपनाउन आग्रह गरेको छ।



