झापा, फागुन ११ । इलाममा ट्रकले किचेर बिर्तामोडका एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

आज बिहान ११ः३५ बजे इलाम सूर्योदय नगरपालिका ०७ पाल्टाङेस्थित मेची राजमार्गमा बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १५२० नं. को मोटरसाइकल चालक बिर्तामोड ५ बस्ने बर्ष ३१ का टिंकु साहले ब्रेक लगाउने क्रममा सोही मोटरसाइकलमा पछाडि सवार बिर्तामोडकै बर्ष ५० का मनोज चौधरी भगत अचानक मोटरसाइकलबाट लडेका थिए । सोही बेला विपरीत दिशाबाट आउँदै गरेको मे १ ख १९९८ नं. को ट्रकको पछाडीको चक्काले टाउकोमा किच्दा चौधरीको घटनास्थलमा मृत्यु भएको हो । मृतक चौधरी बिर्तामोडका कस्मेटिक व्यवसायी हुन् ।
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट टोली खटिएको छ । मोटरसाइकल चालकलाई फिक्कल अस्पताल फिक्कलतर्फ पठाइएको छ । उनको अवस्था बोल्न सक्ने रहेको छ । ट्रक चालक पाँचथर हिलिहाङ ७ बस्ने बर्ष ३० का हरिनारायण सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ।



