झापा, फागुन ११ । झापा गाउँपालिका वडा नं ६ शरणामतीमा एमालेको झण्डा जलाएको विषयमा कांग्रेस र एमाले समर्थकबीच सुरुङ्गामा विवाद भएपछि तनाव भएको छ ।

गएराति ११ बजेतिर झापा गाउँपालिका वडा न.६ शरणामतीस्थित बाटोमा अपरिचित व्यक्तिहरुले नेकपा एमाले पार्टीको सानो खालको १३–१४वटा झण्डा जलाएका थिए । सोही घटनालाई लिएर राति कुमरखोद तर्फबाट उत्तर आउँदै गरेका कांग्रेस निकट युवाहरुलाई एमाले निकट युवाहरुले धम्क्याएका थिए । राति धम्की दिने एमालेका युवाहरु सुरुङ्गाको युनिक क्याफेमा बसेको थाहा पाएर आज दिउँसो १.२० बजेतिर कांग्रेसका युवाहरु झगडा गर्न गएका हुन् । त्यसक्रममा हात हालाहालको अबस्था भएको थियो ।

झापा ४ का कांग्रेस उम्मेदवार देउकुमार थेबेको भोट माग्दै हिडेका ठूलो संख्यामा युवाहरुले क्याफेभित्र पसेर एमालेका युवाहरुलाई कुटपिट गरेका छन् । उनीहरुबीचको विवाद मिलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

दिउँसो विवाद साम्य बनाएपनि अहिले साँझ फेरि दुई पक्षकै युवाहरु माईधारमा भेला भएका थिए । त्यहाँ फेरि झडप भएको छ । झडपमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दाङपछि झापामा पनि एमालेको झण्डा जलाइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्