झापा, फागुन १२ । नयाँ मतदाता थपिएको झापामा यस वर्षको निर्वाचनमा मतदानको दर बढ्ने अपेक्षा गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले झापामा ८० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान गरेको हो । विगतका निर्वाचनको तुलनामा यस वर्षको निर्वाचनमा मतदाताहरुको संख्या बढेसंगै उपस्थिति पनि बढ्ने जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । उनले बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन मतदाता शिक्षा कार्यक्रमलाई तिब्रता दिइएको बताए । यसपटक ५० हजार नयाँ मतदातासहित झापामा सात लाख १३ हजार ५३७ मतदाता पुगेका छन् ।

क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ र अन्य दुई गरी एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन् ।
यस क्षेत्रमा ६१ वटा मतदानस्थल र १८५ वटा मतदान केन्द्र रहेका छन् ।

क्षेत्र नम्बर ४ मा ६६ हजार २८३ पुरुष, ६४ हजार ४२८ महिला र अन्य एकसहित एक लाख ३० हजार ७१२ मतदाता छन् भने ६३ वटा मतदानस्थल र १५६ वटा मतदान केन्द्र रहेका छन् ।

क्षेत्र नम्बर ३ मा ७१ हजार १७४ पुरुष, ६९ हजार ६८३ महिलासहित एक लाख १० हजार ८५७ मतदाता, ६७ वटा मतदानस्थल र १६४ वटा मतदान केन्द्र रहेका छन् ।

क्षेत्र नम्बर २ मा ७३ हजार ९५० पुरुष, ७३ हजार ५६७ महिला र अन्य पाँचसहित एक लाख ४७ हजार ५२२ मतदाता रहेका छन् । यहाँ ४९ वटा मतदानस्थल र १६५ वटा मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

यसैगरी क्षेत्र नम्बर १ मा ६५ हजार ८५८ पुरुष, ६५ हजार २०९ महिलासहित ४३ वटा मतदानस्थल र १४५ मतदान केन्द्र रहेका छन् ।

झापामा २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ७०.४७ प्रतिशत मतदान भएको थियो । त्यसबेला जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेका थिए ।

२०७४ सालको अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो। २०७९ मा मतदाताको संख्या बढेपनि अघिल्लो निर्वाचनभन्दा २ प्रतिशत कम मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्