झापा,फागुन १२ । फागुन २१ को निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको पव्लिक डिबेटमा फेरि विवाद भएको छ ।

हिजो बिर्तामोडमा झापा क्षेत्र नं २ का उम्मेदवारहरुबिच प्रत्यक्ष संवाद आयोजना गरिएको थियो । बिर्तामोडको अतिथि सदनको सभाहलमा वीरता जेसीज, सुरुङ्गा जेसीज , बुधबारे जेसीज , अर्जुनधारा जेसीजको संयुक्त आयोजनामा भएको बहसमा झापा क्षेत्र न २ प्रत्यक्ष उम्मेदवारहरु नेपाली कांग्रेसकी सरिता प्रसाई , राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर , नेपाली कम्युनिस्ट पार्टीकी धर्मशिला चापागाँई , राष्ट्रिय प्रजातन्त्र पार्टीका भद्रप्रसाद नेपाल , स्वतन्त्र उम्मेदवार युवराज संग्रौला,उज्यालो नेपाल पार्टीका चुडा कर्ण बेघा , ,नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) का अर्जुनकुमार पाण्डे सहभागी भएका थिए ।

बहसका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सचिव सृजन अधिकारीले कांग्रेस उम्मेदवार सरिता प्रसाईलाई जेनजीहरुलाई हत्या गर्ने हत्यारा पार्टीको उम्मेदवार भनेपछि विवाद भएको हो । अधिकारीको त्यस्तो अभिव्यक्तिप्रति कांग्रेस कार्यकर्ताहरुले कडा प्रतिवाद गरेका थिए । काँग्रेसका कार्यकर्तासंग केहीबेर भनाभन भएपछि कार्यक्रम नै भाडिएको थियो । त्यसबीचमा रास्वपाकी उम्मेदवार मगर र राप्रपा उम्मेदवार नेपाल कार्यक्रम छाडेर बाहिरिएका थिए ।

होहल्ला भएपछि थप सुरक्षाकर्मी मगाइएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डमा नेपाल प्रहरी १५ जना र निर्वाचन प्रहरी १०जना खटिएका थिए । त्यस्तै सशस्त्र प्रहरी बल बेश क्याम्प शनिश्चरेबाट प्रहरी नायव उपरीक्षक धनबहादुर बोहराको कमाण्डमा सशस्त्र प्रहरी ९ जना र निर्वाचन प्रहरी ६जना परिचालन भएका थिए । पछि अन्य उम्मेदवारलाई राखेर आयोजकले कार्यक्रम गरेको थियो ।
गत बिहीवार न्युज २४ ले बिर्तामोडमा झापा– २ का उम्मेदवारबीच पब्लिक डिबेटको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि त्यस्तै विवाद भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्